हरि चौधरी,

काठमाडौं – स्क्रिन प्रिन्टिङको शुरुवात प्राचिन चीनमा सोङ राजवंशमा १३ औं शताब्दीमा भएको हो । चीनले पहिलो पटक स्क्रिन प्रिन्टिङ प्रक्रिया प्रयोग गरेको थियो । त्यति बेला कपडाहरुमा डिजाइन हस्तान्तरण गर्ने तरिकाको रुपमा भएको थियो । स्क्रिन प्रिन्टिङको पहिचान योग्य रुपमा बनाउने एसियाली देशहरु मध्ये जापान पहिलो हो । जापानीहरुले कपडामा इमेजरी सिर्जना गर्न सरल स्टेंसिलिङ प्रविधिहरु प्रयोग गरे । स्टेन्सिलहरु मूल रुपमा कागजबाट काटिएका थिए र तिनीहरुले प्रयोग गरेको जाल मानव कपालबाट बुनेको थियो । कडा ब्रशको साथ कपडामा जाल मार्फत मसी जबरजस्ती लगाइन्थ्यो ।

फ्रान्सले १७ औं शताब्दीको सुरुमा कपडामा प्रिन्ट गर्न रेशमबाट बनेका स्क्रिनहरु प्रयोग गर्न थाले, यद्यपि तिनीहरुले अझै पनि यसलाई जालमा धकेल्न कडा ब्रश प्रयोग गर्थे । अन्ततः स्टेन्सिललाई समर्थन गर्न फ्रेममा रेशम तन्काउने अभ्यासको थालनी भयो । 

१९ औं शताब्दीमा जब रेशम जाल एशियाबाट व्यापार गर्न थालियोे तब यो माध्यमको लागी एक लाभदायक आउटलेट साबित भयो । यसले युरोप वरिपरि अकर्षण र लोकप्रियता बढ्यो । 

रोय बेक, चाल्र्स पिटर र एडवर्ड ओवेन्सलाई स्क्रिन प्रिन्टिङमा फोटो–इमेज्ड स्टिन्सिलको परिचय दिएर व्यावसायिक स्क्रिन प्रिन्टिङ उद्योगमा क्रान्ति ल्याउने श्रेय दिइन्छ । स्क्रिन प्रिन्टिङ प्रक्रिया शुरुमा भित्ताहरुमा कागज र कपडाहरुबाट रोचक रङहरु र ढाँचाहरु छाप्न प्रयोग गरिएको थियो । त्यसपछि यो अभियानहरुको लागि विज्ञापनदाताहरुद्वारा प्रयोग गरिन थाल्यो । अन्ततः कलाकारहरु र व्यावसायिक प्रिन्टरहरुले यसलाई विभिन्न सामग्रीहरु जस्तै टी–शर्टहरु, डिभिडीहरु, गिलास, कागज, धातु र काठमा छाप्न थाले ।

सन् १९३८ मा कलाकारहरुको समूहले राष्ट्रिय सेरिग्राफ सोसाइटी गठन ग¥यो, जसमा म्याक्स आर्थर कोन र एन्थोनी भेलोनिस जस्ता कलाकारहरु समावेश थिए । यस सोसाइटीले प्रक्रियाको औद्योगिक, व्यावसायिक प्रयोगबाट कागजमा स्क्रिन प्रिन्टिङको आफ्नै कलात्मक प्रयोगलाई फरक पार्ने तरिकाको रुपमा सेरिग्राफी शब्द बनायो जसको ल्याटिनमा ‘सेरी’ भनेको रेशम र ग्रीकमा ‘ग्राफीन’ को अर्थ चित्रण गर्ने भन्ने बुझिन्छ । 

१९६० को कलाकारहरु जस्तै पिटर ब्लेक, एन्डी वारहोल र रोवर्ट राउशेनबर्गले आफ्नो कलाको महत्वपूर्ण तत्वको रुपमा स्क्रिन प्रिन्टिङ (सेरिग्राफी) प्रयोग गर्थे । यसले समकालीन कलाकृतिहरु सिर्जना गर्ने माध्यमको रुपमा यसको लोकप्रियता भाल्कियो । अमेरिकी उद्यमी, कलाकार र अविष्कार माइकल भासिलोनटोनले १९६० मा घुमाउन मिल्ने बहु–रङ कपडा स्क्रिन प्रिन्टिङ मेसिनको विकास गरे र बेचेका थिए । उनको प्याटेन्ट सृजनाले प्रिन्टेड टी–शर्टहरुले नयाँ अबिष्कार दियो र उनको कपडा स्क्रिन प्रिन्टिङ मेसिन धेरै लोकप्रिय भयो । सन् १९६२ मा मार्लिन डिप्टिच सबैभन्दा प्रसिद्ध रेशम प्रिन्टहरु मध्ये एक हो ।

स्क्रिन प्रिन्टिङ एउटा प्रिन्टिङ प्रविधि हो जहाँ कपडाको स्क्रीनमा आफुलाई चाहिने सामाग्री तयार पारी एक पटकमा एउटा मात्र रङ्गले छाप्न मिल्छ । त्यस्तै धेरै रंगहरु छाप्नको लागी त्यही अनुसारको स्क्रिनहरु प्रयोग गर्नु पर्दछ । स्क्रिन प्रिन्टिङ एक प्रकारको मुद्रण प्रक्रिया हो । २१ औं शताब्दीमा स्क्रिन प्रिन्टिङको प्रक्रिया मुख्यतः तीन प्रमुख चरणहरुबाट बन्द छः डिजाइन, स्क्रिन तयार र छाप्ने प्रक्रिया । पहिलो चरणमा आफुलाई चाहिने डिजाइन कम्प्यूटरद्वारा तयार गरेर प्रिन्टरबाट अर्धपारदर्शक वा पारदर्शक पेपरमा प्रिन्ट गरिन्छ । दोस्रो चरणमा काठको फ्रेममा पारदर्शक लाइलनको कपडा लगाएर स्क्रिन फ्रेम तयार गरिएको हुन्छ र उक्त फ्रेममा सुपरकोट (ग्रिनकोट) मा सेन्सिटाइजर मिसाइएर तयार गरिएको सुपरकोटलाई स्क्रिनको फ्रेममा लगाइन्छ । सुपरकोट लगाइएको फ्रेम सुकेपछि पारदर्शक पेपरमा प्रिन्ट गरिएको डिजाइन फ्रेमको तल पर्ने गरि राखेर घाममा वा लाइटमा २ देखि ५ मिनेट (लाइटको उज्यालो अनुसार) राखिन्छ र पानीले धुनु पर्दछ । यसरी पानीले धोइसकेपछि राम्ररी सुकाउनु पर्दछ । यस प्रक्रियाबाट हामीले छाप्नको लागि तयार गरिएको भागबाट मात्र कलर छिर्छ र हाम्रो स्क्रिन फ्रेम छाप्नको लागि तयार हुन्छ । र तेस्रो चरणमा हाम्रो डिजाइन भन्दा बाहिर मसी नजाओस् भन्नको लागि पाटलो टेप टाँसेर आफुलाई चाहिने कलरले छाप्न सकिन्छ ।