काठमाडौं - स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन्। 

रौतहट-२ बाट प्रतिनिधिसभामा निर्वाचित साह सोमबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन्। साहलाई एमाले अध्यक्ष ओलीले खादा र टीका लगाएर स्वागत गरे।

साह एमालेमा प्रवेश गरेसँगै एमालेको प्रतिनिधिसभामा सिट सङ्ख्या ७९ पुगेको छ।

माओवादीमा राजनीति गरेका साह मधेसवादी दल हुँदै केही समय अघि एमाले प्रवेश गरेका थिए। एमाले पार्टीले टिकट नदिएको र सो क्षेत्र जसपाको भागमा परेपछि साहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए।

साहले स्वतन्त्र उम्मेदवार समूह प्रभु साहको समूहसँग मिलेर चुनाव लडेका थिए। एमाले-जसपा गठबन्धनबाट शैलेन्द्र साह उम्मेदवार बनेका थिए। तर एमाले-जसपा गठबन्धनका उम्मेदवार शैलेन्द्रले जसपाबाट टिकट लिएर चुनावको अन्तिम दिन सार्वजनिक रुपमै किरण साहलाई समर्थन गरेक‍ो घोषणा गरेका थिए।

साहले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. फिरदोस आलमलाई ४ हजार ५ सय ९४ मतान्तरले पराजित गरेका थिए।