काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन र नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। 

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा निकायका प्रमुखसँग मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री शाहले अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउनसमेत जोड दिएका छन्।

प्रधानमन्त्री शाहले चाडपर्वका समयमा नागरिकको सुरक्षा र समग्र शान्ति सुरक्षाको व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

उनले देशको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई प्रभावकारी बनाउन पनि जोड दिएका छन्।

प्रधानमन्त्रीसँगको ब्रिफिङमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी थिए।

सो अवसरमा सुरक्षा निकायका प्रमुखहरूले मुलुकको पछिल्लो सुरक्षा अवस्था, चाडपर्वमा नागरिकको सुरक्षा तथा शान्ति–सुरक्षा व्यवस्थापनका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।