व्रेमेनको टाउनहल हेरी सकेपछि म डेरा फर्किए । फेरी अर्को दिन सिनेटको काम सकी तीन वजे म सोही ब्र्रेमेनको भित्री वजार क्षेत्र (मार्केट स्क्वायर) रोलाण्डको मूर्ति र भित्री वजार क्षेत्रमा रहेका पुराना घरहरु हेरेर दुई घण्टा बिताए ।
रोलाण्डको मूर्ति
यो मूर्ति सन १४०४ मा ब्रेमेनको भित्री वजार क्षेत्रमा वनाई ठडाइएको रहेछ । त्यहाँको चर्च (क्याथेड्रल)तिर फर्काइ ठडाइएको यो रोलाण्डको यो मूर्तिलाई शहरको संरक्षक मानिदो रहेछ । प्रथम रोमन सम्राट चार्लेम्याग्ने जसलाई रोन्चेभु पास (भन्ज्यांग) को युद्धवीर रहेछन उनको मूर्ति हो यो भनिदो रहेछ । मूर्तिले वोकेको दाप विनाको नाँगो तरवार र दुई टाउको भएको चीलअंकित साम्राज्यको ढाल (इम्पेरियल सिल्ड) लाई बहुमूल्य पुरातात्विक वस्तुको रुपमा लिइदो रहेछ । करिव साडेपाँच मिटरको उचाई भएको यो मूर्ति ६० सेन्टिमिटर अग्लो चारकुने गारो (रोष्ट्रम) माथि ठडाइएको रहेछ । मूर्ति नढलोस भनेर पछाडि पट्टिबाट मूर्ति संगै जोडिएको स्तंभको उचाइलाई समेत जोडदा मूर्तिको कूल अग्लाई १० दशमलव २१ मिटर हुन आउदो रहेछ । यो मूर्ति जर्मनीको एल्म भन्ने ठाउवाट ल्याइएको चुनढुंगामा कुंदिएको रहेछ । पहिले त्यसै ठाउमा त्यस्तै मूर्ति काठमा कुंदेर वनाइएको रहेछ जुन १३६६ मा भएको आगलागिको कारण जलेर खरानी भएको रहेछ ।
फेरी जल्ने अवस्था नाआवोस भनी ब्रुन्सभीकका आलबेर्टले काठको ठाउमा चुन ढुंगामा कुदेर यो मूर्ति बनाउन लगाएका रहेछन । चर्च पट्टि फर्काएर यस मूर्तिलाई ठडाउनुको अर्थ धार्मिक गुरुहरुले धर्मको नाममा नगरवासीको अधिकार माथि आफनो शासन लाद्न नपाउन भन्ने आशय राखिएको रहेछ । रोलाण्डको मूर्ति पूरानो रोमन साम्राज्य अन्तर्गत रहेका शहरहरुमा राख्ने प्रचलनले नागरिक अधिकारको महत्वलाई बुझाउने कार्य गरेको हुँदा रोलाण्डको मूर्ति जहासुकै ठडिएको भएपनि यसलाई स्मारक संरक्षण कानून अनुरुप संरक्षण गर्ने गरिएको रहेछ । पछि गएर यो मूर्ति ठडिएको स्थललाई यूनेस्कोले विश्व सम्पदा क्षेत्र घोषित गरेको रहेछ । मान्छेहरु के विश्वास गर्दा रहेछन भने ब्रेमेन शहरलाई जहिले सम्म यस मूर्तिले पहरा दिन्छ तवसम्म ब्रेमेन शहर स्वतन्त्र रहनेछ भनिदो रहेछ । मूर्ति अवलोकन गरेपछि म मूर्ति वरिपरि रहेको भित्री वजार र त्यहाँ भएका भवनहरु अवलोकन गर्न तर्फ लागे ।
ब्रेमेनको भित्री वजार स्क्वायर
यो वजार ब्रेमेन शहरको मुटुमा अवस्थित रहेछ र यो हान्जेयाटिक लिगको कुनै वेलाको राजधानी पनि रहेछ । शहर भित्र रहेका विभिन्न चोक (स्क्वायर) मध्ये यो सबैभन्दा पुरानो रहेछ र ३४८४ वर्गमिटरको क्षेत्र ओगटेको रहेछ । वजार स्क्वायर भनिए तापनि यहाँ खाली क्रिसमसको चाडमा वजार लाग्ने र अर्को चाहि अक्टोवर महिनाको अन्ततिर लाग्ने हाटवजार रहेछ । यो वजारक्षेत्र र यसको वरिपरिको भाग सन १७९६ मा नै वनिसेकेको रहेछ । वजार चोकको विचको भुइमा हाम्रो मण्डला जस्तो देखिने गरि मार्वलको हान्जेयाटिक क्रस वनाइएको रहेछ । जसको गोलाइको (डायमिटर)नाप ४ दशमलव ८ मिटर रहेछ । वजारको दक्षिण मा भेसर नदिको शाखा नदि वाल्जे नदि वगेको रहेछ । यो ब्रेमेनको पहिलो ब्यापारिक जलमार्ग र पोर्ट पनि रहेछ । नदिमा सासाना डुंगाहरु चलेका देखिदो रहेछ । १२ देखि १३ शताब्दिको वीचमा यो वजार क्षेत्रलाई समथर वनाई विभिन्न चरणमा गरी प्लास्टर गरिएको रहेछ र यसै प्लास्टर माथि टाउनहल, लेडि चर्च, रोलण्डको मूर्ति र अन्य भवनहरु खडा गरिएको रहेछ । पछि भित्रि वजारलाई सुरक्षित गर्न भनेर वाहिरी वजारमा निस्कन मिल्ने गरी ढुंगे पर्खाल वनाइ घेरिएको रहेछ । वजारको सास्कृतिक वातावरणको जगेर्ना गर्न भनेर पैदल हिडनेहरुको सुविधाको लागि वस्तुहरु वेच्न राखिने स्टलहरुको वीचमा चौडा पैदल मार्ग वनाइएको रहेछ ।
पछि १८औ शताब्दिको अन्त्य तिर गएर शहरलाई घेरेको भित्री पर्खाल भत्काइ गोलाकार स्तंभहरु निर्माण गरिएको रहेछ । यस स्क्वायरमा ठडिएका भवनहरु जर्मनीकै सबैभन्दा सुन्दर र आकर्षक भवनहरुमा गनिदा रहेछन् । सबै निर्माणहरु चुन ढुंगाको ब्यापक प्रयोग भएको रहेछ ।




0 comment