फ्रान्कफर्टका सम्पदाहरु अवलोकन गरे पश्चात जर्मनीका विश्व विख्यात सास्कृतिक सम्पदाहरु क्रमस सकिदै गएका थिए । मेरो अध्ययन गर्ने अवधि पनि क्रमस छोटिदै गएको थियो । यसै वीच मेरो मित्र तथा गेष्ट फेमिली मोनिका होफमानले मलाई जर्मनी, अष्ट्रिया तथा स्वीटजरलैण्डको सीमामा पर्ने तिनै देशको भूमीलाई छुने बोडेन जे (ताल) अवलोकन गर्ने प्रस्ताव राखिन । मेलै त्यो प्रस्ताव सहर्ष स्वीकार गरे । त्यसपछि सन १९९० को अप्रिल महिनाको पहिलो शनिवार र आइतवार त्यतै हामी बोडेन जे तर्फ लाग्यौं ।
बोडेन जे


यो ताललाई जर्मनीमा कोन्स्टान्च्ज ताल पनि भन्दा रहेछन किनकी यो तालको उत्तरी भागले जर्मनीको ठूलो शहर कोन्स्टान्च्जलाई जोेडेको रहेछ र यही तालबाटै जर्मनीको ठूलो नदी राइन जन्मेको भन्दा फरक नपर्ने रहेछ । समुद्री सतहवाट ३९५ मिटरको उचाइमा रहेको र ६३ किलोमिटर लम्वाइ १४ किलोमिटर चौडाइ र कूल ५३६ वर्ग किलोमिटरको क्षेत्रफल ओगटेकमो यो तालको उत्तरले जर्मनीको कोन्स्टान्च्ज शहरलाई, दक्षिणले स्वीटजरलैण्डको सेन्ट गालेन शहरलाई र पूर्वले अष्ट्रियाको भोरालवेर्ग शहर जोडेको हुंदा यस ताल अन्तर्राष्ट्रिय तालको रुपमा चिनिन गएको रहेछ । सबैभन्दा महत्वपूर्ण र आश्चर्यजनक कुरा भनेको यस तालमा तिन देशको वेग्लावेग्लै समय आआफनो क्षेत्रमा कायम भएको हुंदा तालमा मनोरंजना गर्ने पर्यटकहरुमा खास दिनको कतिवजेको छ भन्ने कुरामा भ्रम हुदो रहेछ । तिन देशको केन्दविन्दु मात्रै नभै तीन देशको वीचको ब्यपारपनि यसै तालमा रहेका ब्यापारिक वेडाहरु मार्फत हुने हुंदा तालले छोएका तिन देशका शहरहरुमा आर्थिक विकाश समृद्धि त्यही अनुरुप हुन पुगेको रहेछ । यस तालको पानीको श्रोत भनेको आल्पस हिमालका हीमनदी र त्यहाँबाट पग्लेर उत्तरतर्फ झर्ने नदिनालाहरु नै रहेछन् ।  केन्द्रिय यूरोपको सबैभन्दा वढी वर्गमिटर र वढी पानीको आयतन भएको ताजा पानीको तालकोरुपमा पनि यो ताल प्रख्यात रहेछ । किनकी यस तालकै पानी पश्चिम दक्षिण जर्मनीका शहरहरुको खानेपानीको श्रोत रहेछ । यहा गृष्ममा नौका विहार, क्रुज, याख्टिंग जस्ता पर्यटकिय गतिविधि संचालन हुने हुदा लाखौ पर्यटकहरुको गन्तब्य पनि रहेछ । हामीले पनि सिंगै मध्यान्ह क्रुज विहार गरी वितायौं ।