इम्पेरियल क्याथेड्रल अवलोकन गरेपछि हामी फ्रान्कफर्ट नगरको शाही (इम्पेरियल) हल अवलोकन गर्न  त्यतातर्फ लाग्यांै । यही इम्पेरियलहललाई पछिल्लो समयमा नगर सभा गृह (टाउनहल) पनि भन्दा रहेछन् । मध्यकालिन समयमा रोमरहरुको ज्यादै सिंगारिएको र त्यतिखेर ज्यादै नाम चलेको हल रहेछ यो । फ्रान्कफर्ट शहर परिषदको मुख्यालय रहेको यो हलमा सन १६१२ मा पहिलोपटक सम्राट माथि यसको राज्यारोहण भई ठूलो भोजको आयोजना भएको रहेछ । अहिले पनि शहरको औपचारिक क्रार्यक्रम र समारोहहरु यहीँ नै आयोजना हुने रहेछ ।

सम्राट चयन गर्ने र उनको राज्यारोहण समारोह र सार्वजनिक भोजका कार्यक्रमहरु हुने हुँदा हलका भित्ताहरुमा त्यहाँ राज्यारोहण भएका सम्राटहरु चार्लेमाग्न्यांदेखि फ्रान्सिस द्वितीयसम्मका गरी ५२ वटा कलात्मक चित्र (पेन्टिङहरु) टाँसिएका रहेछन् । पेन्टिङसँगै राज्याभिषेकको अवसरमा जारी गरिएका सुनका सिक्काहरुलाई पनि हलमा प्रदर्शनमा राखिएको रहेछ । रोमन साम्राज्यका पार्षद र प्रशासकहरु बसेर आफ्नो दैनिक काम गर्ने यो हलमा कारागार र अपराधीलाई यातना दिई अपराध सावित गराउने कक्ष (टर्चर च्याम्बर) पनि रहेछ ।

सन १६६३ देखि १८०६ सम्म यहाँ रोमन साम्राज्यको संसद पनि बसेको रहेछ । युरोप र जर्मन राजनीतिको यो हल केन्द्रविन्दु बन्न पुगेको रहेछ । युनेस्कोको हेरिटेज साइटमा पर्न गएको यो हलमा टिकट काटेरमात्र प्रवेश दिइँदो रहेछ । इम्पेरियल हल रहेको भवन भने मध्यकालीन वास्तुकलामा बनेको रहेछ ।