फ्रान्कफर्टको भित्री शहर रोमरवेर्ग र त्यहाँको बीचमा रहेको जस्टिस फाउन्टेन अवलोकन गरेपछि  हामी विस्तारै त्यहाँ भएको विश्वप्रसिद्ध निकोलाउस चर्च अवलोकन गर्ने उद्देश्यले त्यता तिर लाग्यौ ।

सेन्ट निकोलाउस चर्च 
यो मध्यकालिन चर्च फ्रान्कफर्टको पूरानो शहर रोमेरवेर्गको सभागृहको नजिकै रहेछ । पहिले साउफेरियन सामन्त घरानाको पूजाको लागि बनाइएको यो एक लुथेरान प्रोटेस्टेन्ट चर्च सेन्ट निकोलाउस प्रति समर्पित रहेछ । यस चर्चमा ५१ वटा घण्टी रहेछ जस्मध्ये ४ वटा मानव संचालित घन्ट र ४७ वटा मेशिन (कार्रिल्लोन) बाट बज्ने रहेछ । यस कारिल्लोनबाट मध्यकालिन समयमा जर्मन लोकसंगीत नियमितरुपमा बजाइने परम्परा रहेछ । यो चर्चको पहिलो गजुर (सापेल) १२औ शताब्दिको मध्यतिर  दोस्रो चाहि १५औं शताब्दिमा  निर्माण भएको रहेछ । राजा र सासंदहरुले निर्वाचनताका मत खसाल्नु पर्दा यही चर्चमा वुथ राखिदो रहेछ । चर्चको भित्र जिगफ्रिड र क्याथरिनाको गरी माडेन गेर्थेनरले सन १४१०।२० तिरको बनाएको  दुईवटा महत्वपूर्ण चिहान पनि रहेछ । सन १४७६ मा यस चर्च भित्रै गोथिक शैलीको ग्यालेरी पनि बनाइएको रहेछ जहा वसी सभासदहरुले धार्मिक कार्यक्रम अवलोकन गर्दा रहेछन । निर्माणकाल देखिनै नियमित जिर्णोध्दार हुदै आएको र दोस्रो विश्वयुद्ध ताका फ्रान्कफर्टको भित्री शहर बम आक्रमणबाट पूरै ध्वस्त भए तापनि यो चर्चमा भने आंशिक क्षति मात्र पुगेको रहेछ । युद्धपछि डोमरोमर प्रोजेक्ट अन्तर्गत पूरानो शहरसहित यो चर्चको पनि पुर्ननिर्माण भएको रहेछ ।

आधुनिक गगनचुम्वी फ्रान्कफर्ट शहरको टावरको अघिल्तिर रहेको यो सानो चर्चले पूरानो फ्रान्कफर्ट शहर कस्तो थियो भन्ने राम्रो झल्को दिने रहेछ । चर्चको भित्र एक प्रार्थनाकक्ष (नेभ) अनि त्यहाँ सजाइएका पूरातात्विक महत्व भएका बेन्चहरु अनि त्यहाँ बसी कार्रिल्लोनमा बजेको लोकसंगित सुन्ने परम्परालाई अलौकिक मानिदो रहेछ । क्रिसमस ताका चर्चको वाल्कोनिबाट गायकहरुले गीत गाउने अनि दर्शकहरु चाहि चर्चको चोकमा रहेको क्रिसमस बजारको रेष्टुरामा बसी वियर पिउदै, स्नित्चेल (पिठोको लेदोमा चोपली बनाएको मासुको पकौडा) खांदै संगीतको धुनमा रम्छन भन्दा रहेछन् ।