सेन्ट निकोलाउस चर्च अवलोकन गरेपछि हामी फ्रान्कफर्टको इम्पेरियल क्याथेड्रल अवलोकन गर्न त्यतातर्फ लाग्यांै यस क्याथेड्रललाई जर्मन भाषामा फ्रान्कफुर्टर डोम पनि भनिदो रहेछ । र्जमन सम्राटको घरानाको चर्च भएको कारण यसलाई काइजर डोम पनि भन्दा रहेछन् । गोथिक शैलीमा बनेको यो एक रोमन क्याथोलिक चर्च रहेछ । फ्रान्कफर्ट शहरको मुटुमा रहेको र फ्रान्कफर्टका ठूला भवन मध्ये एकमा गनिदो रहेछ । यस क्याथेड्रल अवस्थित रहेको स्थलमा भएको उत्खननको आधारमा यहा सातौ शताब्दिमानै चर्च रहेको प्रमाण फेला परेको कारण यो एक पुरातात्विक तथा फ्रान्कफर्टकै इतिहास बोकेको क्षेत्र पनि रहेछ । पछि १४औ र १५औ शताब्दिको मेरोभिन्ज्यानकालमा यस क्याथेड्रलको जग बस्न गएको रहेछ ।
सन १३५६ पछि यो क्याथेड्रलमानै जर्मन राजको रुपमा पवित्र रोमन सम्राटको चयन र राज्याभिषेकको आयोजना हुने भएको कारण पनि यो क्याथेड्रल विश्वविख्यात हुन पुगेको रहेछ । सम्राट चयन हुने कक्ष क्याथेड्रलको कलात्मक गजुर (सापेल) र विशाल प्रार्थना कक्षको मंच (आल्टर) समुहमा धार्मिक गीत संगीत वादन गर्ने स्थल (कोरस) को दक्षिण तर्फ सन १४२५ मा नै बनाइएको रहेछ । यो क्याथेड्रलको अर्को विशेषता भनेको क्याथोलिक चर्च भएतापनि प्रोटेस्टेन्ट मानिने लुथेरान सम्प्रदायको सन्तवार्थोलोमेउमा समर्पित भएको कारण यो चर्चलाई १९औ शताब्दिमा क्याथोलिक र प्रोटेस्टेन्ट गरी दुई धार्मिक सम्प्रदायबीचको एकताको प्रतिकको रुपमा लिइदो रहेछ । साधारणतया क्याथेड्रल भन्ने वित्तिकै इसाइ आर्कविशपस्तरको चर्च मानिन्छ तर पवित्र रोमन स्रमाटको चयन र राज्याभिषेकसमेत आयोजना गर्ने स्थल भएको कारण फ्रान्कफर्टको यो क्याथेड्रलको वेग्लै महत्व र हैसियत रहेछ ।
पछि सन १८६७ को भीषण आगलागीमा परी यो क्याथेड्रल ध्वस्त भएको रहेछ र अहिलेको रुपमा यसको पुर्ननिर्माण भएको रहेछ । त्यसै गरी दोश्रो विश्वयुद्ध ताका मार्च २२, १९४४ मा भएको वेलायती रोयल फोर्सको बम आक्रमणबाट पुरै फ्रान्कफर्ट शहरको काठले बनेको हजारौ भवनहरु ध्वस्त हुँदा यो क्याथेड्रल पनि क्षतविक्षत भएको रहेछ जसको पुर्ननिर्माण कार्य सन १९५० मा सम्पन्न भएको रहेछ । यस क्याथेड्रलको निर्माण र पुर्ननिर्माण कार्यसँग जर्मनका प्रतिष्ठित नागरिकहरुको नाम पनि जोडिएको रहेछ, जसमा कोनराड तृतिय, माडेर्न गेर्टहेनर, जोहानिस जीप, जोसेफ भेइलाण्ड जस्ता आर्किटेक्ट र कलाकारहरु पर्दा रहेछन् । त्यसैगरी यस क्याथेड्रल भित्र जोहानिस कार्ल र गुन्थर फोन स्वाच्र्जवुर्ग जस्ता राजतन्त्र विरोधी विशपहरुको चिहान पनि रहेछ ।




0 comment