काठमाडौं - जिल्ला अदालत काठमाडौंले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चारदिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

शुक्रबार अदालतले अर्याललाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो । म्याद थपका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार अर्याललाई जिल्ला अदालतमा उपस्थित गराएको थियो । भारतको दिल्लीमा पक्राउ परेका उनलाई बिहीबार पूर्वी नाका भएर नेपाल ल्याइएको थियो ।

उनीमाथि श्रमिक ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ । यसै अभियोगमा दुई पूर्वमन्त्रीसहित उच्चपदस्थ कर्मचारी अहिले प्रहरी हिरासतमा छन् । उनी श्रम सचिव हुँदा मलेसिया जाने श्रमिकमाथि गैरकानुनी रुपमा रकम असुली भएको आरोप छ ।