ब्रेमेनको लेडि चर्च अवलोकन गरेपछि म बेलुकी डेरातर्फ फर्किए । बस्दै जादा ब्रेमेन मेरो लागि अब नौलो रहेन । सिनेटमा काम सिक्ने सन्दर्भमा नयाँ साथीहरुसँग चिनजान बढदै गएको थियो । आफुले नेपाल बारे उनीहरुलाई भन्नु र उनीहरुले ब्रेमेन बारे मलाई बताउनुमा नै हाम्रा फुर्सदका समय बित्दै गएको थियो । बे्रमेनमा अवलोकन गर्नुपर्ने त्यहाँको क्याथेड्रल बाँकी भएको कारण सिनेटको काम सकेर एक दिन दिउसो साढे दुई तिर म ब्रेमेनको क्याथेड्रल पुगी पूरै दिन त्यसलाई अवलोकन गरी बिताए ।
ब्रेमेनको क्याथेड्रल
ब्रेमेनको यो क्याथेड्रल सेन्ट पिटर प्रति समर्पित भएको हुँदा यसलाई सेन्ट पिटर डोम पनि भन्दा रहेछन् । बे्रमेनको मुख्य भित्री बजारमा अवस्थित यो क्याथेड्रललाइ उत्तरी जर्मनीकै सबैभन्दा ठूलो एभान्जेलिक (प्रोटेस्टेन्ट) चर्चहरु मध्ये एकमा गनिदो रहेछ । ब्रेमेनको आर्कविशप रहने चर्च भएको हुँदा यसलाई क्याथेड्रलको हैसियत प्राप्त रहेछ । सन १९७३ देखि यो जर्मन सरकारको स्मारक संरक्षण ऐन अनुरुप पुरातात्विक महत्वको भवनभित्र पर्दो रहेछ ।  यस क्याथेड्रल सामान्यतया मध्यकालिन रहेछ यसको सबैभन्दा पूरानो देखिने संरचना चाही दुइतले रहेछ जसको पहिलो तला रोमन शैलीमा चुनढुंगाले पश्चिम मोहोडा र टावर बनेको रहेछ । सन १२२० देखि यसलाई विस्तार गर्ने क्रममा र्इँट प्रयोग गरी गोथिक शैलीमा बनाइएका भित्ता र धनुषाकार स्तंभ सहितका दलिन (भल्ट) हरु रहेछन् । सन १८८० देखि १९९१ मा यो क्याथेड्रलको आमरुपमा पुर्ननिर्माण गरिएको रहेछ । यसैक्रममा अर्को एक टावर बनाई क्याथेड्रलको छानाको डिजाइन परिवर्तन गरिएको रहेछ । 


यस क्योथेड्रलको प्राचीन इतिहास खोतल्दै जाँदा यसको प्रारंभिक रुप काठको रहेछ जसको छानाबाट नजिकको भेसर नदी देखिदो रहेछ । यसको निर्माण भिलेहाड नामक सन्तले धर्मप्रचारको क्रममा आउदा सन् ७८९ तिर बनाएका रहेछन् जसलाई साक्सोनीहरुले सन ७९२ तिर आक्रमण गरी जलाइदिएका रहेछन् । पछि अर्का विशप भिल्लेरिखले सन ८०५ मा चुनढुंगा प्रयोग गरि पुर्ननिर्माण गराएका रहेछन् । सन ८४५ मा हामवर्ग डेनिसहरुको नियन्त्रणमा जाँदा ब्रेमेन शहरलाई उत्तरी यूरोप हेर्ने आर्कविशप आन्सगारको राजधानी बनाइएको रहेछ । यिनै आन्सगारले क्याथेड्रलभित्र बिचमा दुई लहरबाट हिडन मिल्ने पथ सहितको विशाल प्रार्थनाकक्ष, भजनकक्ष (कोयर) मंच (आल्टर) बनाएका रहेछन ।

सन १०४१ मा भएको आगलागिको कारण यो क्याथेड्रल नराम्ररी जलेको रहेछ । त्यतिखेरका विशप अडालब्राण्डले तुरुन्तै यस क्याथेड्रलको पुर्ननिर्माण गर्ने आदेश दिएको भए तापनि लगत्तै भएको उनको मृत्युको कारण पुर्ननिर्माण पूर्ण हुन नसकेको रहेछ । पछि अर्का विशप आडलब्रेटले लोम्वार्डियाका कालिगढ लगी काठका दलिनहरु राखी इटलीको काम्पान्नामा भएको बेनेभन्तो क्याथेड्रल जस्तै देखिने गरी रोमन शैलीमा यो क्याथेड्रलको पुर्ननिर्माण कार्य सन १०७२ तिर सम्पन्न गराएका रहेछन् । उनैको पालामा क्याथेड्रललाई चारैतिरबाट मोटा पर्खालहरुले घेरी किल्ला जस्तो बनाइएको रहेछन् । हामवर्ग र ब्रेमेनका आर्कविशप गेरहार्डको पालामा पुन यस क्याथेड्रलको जिर्णाेद्धार गरी तल्लो तला, टावर र पश्चिम मोहडालाई रोमनशैलीमा ढालिएको रहेछ । सन १२३० मा दुई टावरको बीचमा एउटा झ्याल बर्नाइ त्यहाँ ब्रमेन शहरको निशाना छाप टासिएको रहेछ । पछि प्रिन्स आर्कविशप वुर्खाडको पालामा सन्त कस्मस र डामियानको खप्परहरु क्याथेड्रलको मर्मत संभारक्रममा भेटिए पछि उनीहरुले प्रयोग गरेका कुराहरु (रेलिक्स) हरुलाई भित्तामा कुंदी झुण्डाइएको रहेछ । त्यसैगरी आर्कविशप जोहान रोडेको पालामा यो क्याथेड्रलको वासिलाका शैलीलाई उच्च गोथिक जर्मन शैलीमा रुपान्तरण गरी उत्तर तर्फ अर्को विशाल प्रार्थना कक्ष (नेभ) थप्ने कार्य भएको रहेछ ।

सन १५३२ मा ब्रेमेन प्रोटेस्टेन्टहरुको प्रभावमा गएपछि पनि यस क्याथेड्रलमा क्याथोलिक विधिमै पुजाआजा गरेको भनी क्रान्तीकारीहरुले हस्तक्षेप गरी लुथेरान पुजाआजा प्रणाली शुरु गरिएको रहेछ जस्को लागि नेदरलैण्डका प्रोटेस्टेन्ट पादरी आल्बेर्टलाई आर्कविशपमा नियुक्ति गरिएको रहेछ । तर क्याथोलिक र प्रोटेस्टेन्ट वीचको विवाद चुलिएको कारण यो क्याथेड्रल पुजाआजाको लागि बन्द गरिएको रहेछ । पछि १६३८ मा लुथेरान आर्कविशप फ्रेडेरिक तेश्रोले यो क्याथेड्रल खोली लुथेरान पुजाआजा शुरुगरेका रहेछन त्यसको १८ वर्ष पछि परेको चट्यांगको कारण यस क्याथेड्रलको छाना आगलागिमा परेको र टावर क्षतिग्रस्त हुन पुगेको रहेछ जसको झण्डै ५० वर्षसम्म पुर्ननिर्माण हुन नसकी भग्नावशेषकै रुपमा बसेको रहेछ । पछि लुथेरान समुदायको ब्रेमेन र यसका वरिपरिका क्षेत्रमा जनसंख्या वढन गएपछि सन १६९३ मा पाचवर्ष लगाएर यस क्याथेड्रलको पुर्ननिर्माण गरी प्रार्थना कक्ष (नेभ) लाई नया ग्यालेरीहरु बनाई विस्तार गरी त्यहा संगीत यन्त्र अर्गान जडान गरिएको रहेछ । सन १८०३ मा ब्रेमेन हानोभर अन्तर्गतको स्वतन्त्र साम्राज्यको राजधानी बनेपछि यो क्याथेड्रललाई लुथेरानको हातबाट खोसिएको रहेछ पछि १८१० फ्रेन्च साम्राज्यले ब्रेमेनलाई आफुमा गाभेपछि क्याथेड्रलको सम्पत्ती उनीहरुले लुटलान भनेर यस क्याथेड्रललाई काल्भानिष्टहरुको वहुमत भएको बे्रमेन शहर परिषदको जिम्मामा छाडिएको रहेछ । पछि १८७३ मा काल्भानिष्ट र लुथेरान बीच क्याथेड्रल संचालन गर्ने कुरामा सहमति भएपछि यस क्याथेड्रलले पुर्नजीवन पाएको रहेछ । त्यसपछि सन १८१७ मा नगर परिषदले क्याथेड्रल उत्तरी पर्खालको छेवछाउमा रहेका पुरानाघरहरु हटाउने कार्य गरेको र १८२२ मा क्याथेड्रलको भित्रीभाग सजाउने कार्य गरी नयाँ मञ्च (आल्टर) वनाउने कार्य भएको रहेछ । यसैगरी गोथिक शैलीमा रंगीन कलात्मक शिशाका झ्यालहरु जडान गर्ने, नया संगीत यन्त्र (अर्गान) राख्ने कार्य भएको  रहेछ ।  

सन १८८० तिर ब्रेमेनका नागरिकहरुले यस क्याथेड्रलको मध्यकालिन गौरव कायम राख्नु पर्छ भनी माग गरेपछि सो कार्यको लागि चन्दा संकलन अभियान संचालन भई त्यसबाट उठेको रकमबाट आम रुपमा यो क्याथेड्रलको मौलिक स्वरुप झल्किने गरी सन १८९२ मा नै जिर्णोद्धार कार्य सम्पन्न गरिएको रहेछ । त्यसक्रममा क्याथेड्रलको टावरको उचाई अग्लाउने कार्य समेत भएको रहेछ । दोश्रो विश्वयुद्ध कालमा भएको बम आक्रमणको कारण झण्डै पूर्णरुपमा नष्ट हुनबाट यो क्याथेड्रल जोगिएको रहेछ जसको जिर्णोद्धारले सन १९८१ सम्मनै निरन्तरता पाएको रहेछ । यस क्रममा क्याथेड्रल भित्र रहेका नव विजेन्टाइन कालका धेरैजसो वहुमल्य पेन्टिङहरु लापता हुन पुगेका रहेछन् ।