काठमाडौं - नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्न खोजिएको भन्दै कडा प्रतिवाद गर्ने निर्णय गरेको छ । 

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले राज्य संरक्षित व्यक्तिहरूमार्फत पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएको भन्दै त्यसको कडा प्रतिवाद र विरोध गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए । यस विषयलाई संसद, संसदीय समितिमा समेत कडा ढंगले उठाउने उनले बताए । 

उनले निर्वाचन नजिकिदै जाँदा डिजाइन नै बनाएर अध्यावधिक र पार्टीको वैधानिकतासँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको धारणा राखे। यस विषयमा राज्यले गर्ने छानबिनमा कांग्रेस पछि नहट्ने उनले उल्लेख गरे । बैठकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने विषयमा सम्बन्धित क्षेत्रका सांसद तथा जनप्रतिनिधिहरूसंग छलफल गर्ने निर्णय गरिएको सहमहामन्त्री रसाईले बताए ।

त्यस्तै कांग्रेस महामन्त्री प्रदीप पौडेलले पूर्वाग्रही र एक–अर्कालाई ठेगान लगाउने राजनीति धेरै दिन नटिक्ने बताए । सबैलाई समन्वय गरेर अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने दायित्व भएको सरकारले सरकारी संयन्त्रहरू प्रयोग गरेर कसैलाई ठेगान लगाउने वा तिर सोझाउने काम गर्न नहुने उनले बताए । विशेष गरी सत्ता पक्षको सवालमा उठेको विषय र प्रधानमन्त्रीसँग जोडिएको विषयका बारेमा सरकार जवाफदेहि हुनुपर्ने उनको भनाइ छ ।

उनले छानबिन तथा पक्राउ गर्दा पनि कानुनी प्रक्रिया हुनुपर्ने, गैरकानूनी ढङ्गबाट पक्राउ गरेर प्रतिशोध साँध्ने वा तर्साउने प्रवृत्ति देखाउन नहुने धारणा राखे । कानुन विपरीतको कुनै पनि काम भए कांग्रेस हेरेर नबस्ने उनले बताए ।