काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको ८४ रनको लक्ष्य काठमान्डुले ९.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो।

काठमान्डुको जितमा अस्ट्रेलियन खेलाडी डेभिड वार्नरले अविजित ४४ रन बनाए। उनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे। अर्का अस्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले २४ बलमा ३ चौकासहित अविजित २३ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि अविजित ७९ रनको साझेदारी गरे। ओपनर साहिल पटेल १० रन बनाएर आउट भए। विराटनगरका अपराजित पौडेलले एक विकेट लिए।

यस जितसँगै काठमान्डुले तीन खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा पराजित भएको काठमान्डुले त्यसपछि लगातार दुई खेल जित्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पाँच खेल खेलेको विराटनगरको यो तेस्रो हार हो। समान चार अंक भए पनि कम रनरेटका कारण विराटनगर पाँचौँ स्थानमा झरेको छ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९.३ ओभरमा ८३ रनमा समेटिएको थियो। विराटनगरका लागि नवौँ नम्बरमा ब्याटिङ गर्न आएका रुपेश सिंहले सर्वाधिक २६ रन बनाए। उनले २७ बलमा ३ चौका र एक छक्का प्रहार गरे। एन्जेलो म्याथ्युजले ३१ बलमा २२ तथा बसिर अहमदले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।