दलितमाथी हुने विभेदमा न्यायको खोजी गरेर न्यायिक निकायसँग हारगुहार गर्दा पनि यहाँ त सामाजिक सदभाव विथोलिने धम्की आउँछ र जातिय विभेदलाई पक्षपोषक गर्नेहरु सलबलाउन थाल्छन् । दलितले छोएको खाइयो भने आकाशै खस्छ धर्ती नै फाट्छ भन्ने तथ्यहिन हाउगुजीका सिकार दलित समुदायलाई बनाइएको वा बनेका तितो वास्तविकता हामीले भोगिराखेका छौ । छोइछिटो भयो भने देउता रिसाउने घरमुली विरामी हुने कुलमा असरपर्ने जस्ता तथ्य र आधारहिन मनोविज्ञानको त्रासमा दलित समुदायहरुलाई प्रस्तुत गर्ने प्रवृत्तिलाई अहिलेको शिक्षाले रोक्न सकेको छैन । 

समाजमा चलेका गलत अभ्यास कुरिती अन्धविश्वासका विरुद्धमा आवाज उठाउने शक्ति शिक्षाबाट प्राप्त गर्न सकिने कुरामा कुनै शंका नै छैन । तर समाजका गलत अभ्यासहरु समाज रुपान्तरणको बाधक बनिरहेकोप्रति अहिलेको शिक्षाले औल्याएको पाइदैन । 
जात व्यवस्थाभित्रको गहिरो सामाजिक विभेदको रुपमा जातिय छुवाछुत मौलाइरहेको छ । जातिय छुवाछुत समाज परिवर्तनको बाधक बनिरहेको छ । करिब ६० लाख जनसंख्या रहेको दलित समुदाय आज जातिय विभेदको सिकार बनिरहनु पलपलमा हुने गरेको जातिय विभेदका घटनाहरु उकालो लागिरहनु जात व्यवस्थाभित्रको कुरितिमात्रै नभएर समृद्ध समाजको बाधक पनि हो भन्ने विषय पाठयवस्तुमा किन छलफल गराइदैन ? 

छुवाछुत भएकै सन्दर्भमा ज्यान गुमाएका पर्वतका राजेश नेपाली र चुलो छोएको निहुँमा मारिएका कालीकोटका मानविरे सुनारहरुको मृत आत्माले शान्ती नपाएको हुँदो हो । किनभने यही गलत अभ्यासका कारण उनीहरुले जीवन अस्ताउनु प¥यो । जातिय विभेदको गहिरो उत्पीडन भोगिरहेका दलित समुदायलाई पाइलापाइलामा गरिने छुवाछुतजन्य व्यवहारहरुले मानसिक पीडामात्र दिएको छैन उनीहरुको आत्मसम्मानमा समेत चोट पु¥याइरहेको छ । जात व्यवस्थाको बारेमा समाजशास्त्रीहरुले गरेका खोज अनुसन्धानलाई नेपाली सन्दर्भसँग मिलाएर विद्यालय तहको शिक्षा दिने वातावरण तयार बनाउन राज्यले आवश्यक नै ठानेको छैन । समाजिक व्यवहार र विद्यालय तहको शिक्षाको तालमेल मिलेको पाइदैन । विशेषगरी विद्यालय तहको शिक्षामा जात व्यवस्थाको पढाइ नहुनु र जातिय विभेदको कालो धब्बालाई विद्यालय शिक्षामा नखोतल्नु आम दलित समुदायहरुका लागि दुभाग्र्य नै बनिरहेको छ । 

नेपाली समाजमा मौलाइरहेको गलत अभ्यास र संस्कारहरु तोड्ने मार्गदर्शन आजको शिक्षाले विद्यालय तहमा देखाउन सकेको पाइदैन । सामाजिकीकरणको क्रममा गरिने व्यवहारमा भोगेका सिकेका कुराहरु नै प्रष्फुटन हुँदै जाने थाहा हुँदाहुँदै पनि समाजले गलत सामाजिक अभ्यासहरुलाई पछ्याइरहेकोप्रति दलित समुदायको आक्रोस छ । 

व्यक्तिभित्रको अचेतनको मैला शिक्षाले धुन्छ भने जात व्यवस्थाभित्रको छुवाछुतको जरा उखेल्न विद्यालय तहमा पढाइ हुने शिक्षामा समावेश गराउँदा के अमिल्दो हुन्छ ? जात व्यवस्थाको संरचना यस्तो हुन्छ, जात व्यवस्थाको विशेषता नै सामाजिक विभेद हो यसभित्र जातको आधारमा गरिने छुवाछुतलाई प्रमुख स्थान दिएको हुन्छ भन्ने जस्ता गलत सन्दर्भहरुले समाजलाई परिवर्तनको मार्गमा लैजान अवरोध पुर्‍याइरहेको छ भन्ने कुरा विद्यालय तहको कुन पाठ्यवस्तुमा समेटिएको छ ? के राज्यका निकायहरुमा दलित समुदायको उपस्थिती बाक्लिदैमा छुवाछुत अन्त्य हुन्छ ? जातिय विभेदको अभ्यास बालापनदेखि नै गराउनका लागि समाज उद्यत हुन्छ भने जात व्यवस्थाको संरचनाको पढाइ स्नात्तकोतर तहमा राखिएको छ । त्यसैले राज्यको तर्फबाट छुवाछुतको मुद्धामा दलितहरुलाई अलमल्याउने काम भैराखेको प्रतित हुन्छ । 

विद्यालय तहमा प्रजनन शिक्षा अनिवार्य गरिदा आज प्रजनन स्वास्थ्यको बारेमा खुलेर छलफल हुन्छ । गाउँगाउँमा प्रजनन स्वास्थ्यको बारेमा छलफल गर्न किशोरकिशोरीहरु झुम्मीराखेका हुन्छन् । बालबालिका किशोरकिशोरीहरु खुलेर प्रजनन स्वास्थ्यको बारेमा आफ्ना कुरा राख्छन् । तर जात व्यवस्थाको बारेमा किशोरकिशोरीहरु युवा वर्गहरु छलफल नै गर्न रुचाउदैनन् । किनभने उनीहरुलाई शिक्षाले त्यसतर्फ इंकित गरेकै हुदैन । कुनै दलित समुदायको बालबालिकाले कुराहरु बुझ्ने भएपछि समुहमा आफ्नो थर बताउन नै हच्कीन्छन् । वास्तविक थर भन्यो भने साथीबाट हेपिन्छु भन्ने मनोविज्ञान दिमागमा पसिसकेको हुन्छ । जसले गर्दा पछिसम्म पनि थर ढाट्ने बानी रहिरहन्छ । विभेदको त्रासले थर लुकाएकाहरुलाई राज्यले छुट्याएको आरक्षण लगायतका कोटामा सरकारी सेवाको लागि गरिने प्रतिस्प्रधाबाट नै बन्चित हुने गरेका तथ्यहरु बेग्रल्ती छन् ।

विद्यालय तहदेखि नै जात व्यवस्थाभित्रको गलत संस्कारका विरुद्धमा छलफल चलाउने आधार राज्यले तयार गर्दो हो त जातिय भेदभावजन्य सोचहरु विस्तारै घट्दो क्रममा हुने थिए । बालमैत्री विद्यालयका बालबालिकाहरुमा परिवारप्रति भन्दा पनि आफूलाई पढाउने शिक्षक शिक्षिकाप्रति बढी विश्वास गरिराखेको कुरा शिक्षा क्षेत्रका बालमनोविश्लेषकहरुको छ । त्यसकारण शिक्षकले भनेका समाजका गलत अभ्यासहरु प्रति विद्यार्थीले सोच्न बाध्य हुन्छ । त्यसता गलत प्रवृत्तिहरुलाई विस्तारै उसले नकार्दै जाने वातावरण बन्दै गएपछि जातिय विभेदमुक्त समाज जातिय विभेदमुक्त पुस्ता ढिलो चाडो देखिनेमा कुनै संका छैन । सन्चार अभियानको भाषामा भन्दा परिवर्तन know, Feel र Do को तहमा हुने गरेको पाइन्छ । थाहा पाउने अनुभव गर्ने र परिवर्तनको मार्गमा आफूलाई लैजाने सिद्धान्त नो फिल र डु । जात व्यवस्थाको बारेमा विद्यालय तहको शिक्षामा पाठ्यवस्तु समावेश गर्दा नो फिल र डु को तहबाट विस्तारै कुरीतिका विरुद्धमा परिवर्तन आउन सक्छ । बालबालिकाहरुलाई विद्यालय तहदेखि नै जात व्यवस्था सभ्य समाजका लागि डरलाग्दो धमिरा हो जसले समाजलाई भित्र भित्रै खोक्रो बनाएको पत्तै हुन्न त्यसैले यसलाई जरैदखि उखेल्ने शक्ति बालापनदेखि नै हुर्काउन आवश्यक भएको अध्ययनमा समावेस गर्न जरुरी छ ।