नागरिकहरुले आफुले छानेको प्रतिनिधि मार्फत शासित हुने अधिकार, वालिग मतधिकारको व्यवस्था, आवधिक निर्वाचन, राजनीतिक दलको अस्तित्व र संवैधानिक निकाय मार्फत् स्वतन्त्र र निष्पक्ष निर्वाचन, बहुमतको सरकार, संसदीय अधिकार, विकासमुलक अर्थव्यवस्था, कानुनको शासन, अल्पमतको कदर, मानव अधिकार र मौलिक अधिकारको व्यवस्था, स्वतन्त्र न्यायापालिका र अन्य आवश्यकीय व्यवस्था नै जनतन्त्रको मूल्य मान्यता मानिन्छ । जनतन्त्र स्थापना मात्र पर्याप्त होइन यस व्यवस्थालाई Democratization अर्थात् जनतान्त्रिक गरिनु महत्वपूर्ण पक्ष हो । 

नेपालको संविधानले जनतन्त्रका यी आधारभूत विषयहरु लिपीबद्ध गरेको छ । तर आम मानिस यिनको उपयोगबाट बञ्चित छन् । नेपाली समाजको जनतान्त्रिककरण भन्नु नै आधुनिकीकरण हो । आधुनिकीकरण भन्नु नै जनतान्त्रिककरण हो । जनतन्त्रको स्तरीकरण, अर्थतन्त्रको सवलीकरण र सुशासनको प्रत्याभूति नहुँदा जनतन्त्रमा लोकप्रियतावाद मौलाइरहेको छ । जनतन्त्रको क्षयीकरण जनतन्त्र विरोधी हुँ भन्नेबाट होइन स्वयं जनतन्त्रवादीबाट भइरहेको छ । खाडी, मध्यपूर्व वा अरब दुनियाँ जस्तो बादशाही, सुल्तानियत, अमिरतन्त्र, युद्ध सरदार जस्ता राजनीतिक प्रवृति नेपालमा छैनन् । राणा शासनको अन्त्यसँगै औपचारिक कुलीनतन्त्र इतिहासको चिहानमा पुरियो अब त्यो जागेर जनतन्त्रलाई हानी गर्न सक्दैन । पाकिस्तान,  बंगलादेश, म्यानमारको जस्तो नेपालको सेनाले कहिल्यै जनतन्त्रको अपमान गरेको छैन । नेपालमा खोमेनी या पोपजस्ता कुनै धार्मिक नेता पनि छैनन् । नत स्तालिन, माओ, कयास्त्रो, चाउचेस्कु, होनेकार जस्ता एकदलीय तानाशाह नै जन्मिए । फेरि पनि जनतन्त्र जोखिममा छ भने त्यो जनतान्त्रिक आन्दोलन भित्रका पपुलिष्टहरु कै कारणबाट भइरहेको छ । केही अक्षम र पपुलिष्टहरु जनतन्त्रको क्षयीकरण गर्न तत्लीन छन् । नेतृत्व कोर्स करेक्सन गर्न जवसम्म तयार हुँदैन, पपुलिष्टहरुको विगविगी झन् बढ्ने निश्चित छ । बैकल्पिक राजनीतिको जुन भाष्य निर्माण भएको छन्, त्यस अनुसार कोर्स बनाउन उचित रणनीति र कार्यनीति बनाउन, व्यवस्थापन गर्न नसक्दा जनतन्त्रमा जोखिम देखापरेको छ, लोकप्रियतावादबाट ।

इतिहासकार माइकल केजिनको ‘द पपुलिष्ट मोमेन्टः अ सर्ट हिस्ट्रीअफ द अग्रेरियन रिभोल्ट इन अमेरिका’ मा बताइएअनुसार लोकप्रियतावाद १९ शताब्दीमा अमेरिकामा उदाएको हो । तर पश्चिम युरोपमा भने १९७० को दशकमा मात्रै यसले स्थान पायो । सन् २००८–०९ को बृहत आर्थिक मन्दीपछि युरोप र अमेरिकामा दक्षिणपन्थी मध्यमार्गी र बामपन्थी सबै किसिमका राजनीतिमा लोकप्रियताबाद उदाईरहेको पत्रकार तथा लेखक जोन वी सुडिसले ‘द पपुलिष्ट एक्स प्लोजन’ मा पुस्तकमा उल्लेख गरेका छन् । विचारधाराहीन राजनीति कुतर्कका आधारमा जब केही ताल न तुलका एजेण्डाहरु कार्यान्वयन गर्ने नाममा सार्वजानिक गरिन्छन्, तिनै क्षणिक सस्तो लोकप्रियतावादका लागि भन्ने गरिन्छ । इतिहासकार केजिन भन्छन् – ‘साँघुरो घेराभित्र नवाँधिएका सर्वसाधारणलाई कामकाजी शासक विरुद्ध भड्काउन विपक्षमा रहेकाले अपनाउने हथकण्डा वा तिकड्रमका रुपमा बुझिन्छ त्यसलाई । यसको एकमात्र उद्देश्य सत्ता हत्याउन मात्र हो । तर विश्वभरका साना ठूला विद्रोह वा क्रान्ति सत्ता हत्याउने निहीत उद्देश्यका लागि मात्र भएका थिएनन् । सहज सहकार्यको वातावरणका लागि र समानताका पनि भएका थिए । 

राजनीतिक रुपमा होस वा सामाजिक रुपमा लोकप्रिय हुने इच्छा सवैमा हुन्छ । कोही सत्कर्मबाट लोकप्रियहुन्छ । कोही सत्कर्मबाट नाम कमाउने छन् कोही पुस्कर्मबाट । युधिष्ठिरसँगै पुर्योधन, रत्नाकरसँगै बाल्मिकी, रामसँगै रावण, कृष्णसँगै कंश, दुर्गासँगै महिषासुर, पुहल्हादसँगै होलिका, गान्धीसँगै नाथुराम पृथ्वीनारायणसँगै विसे नगर्ची ‘हिट’ भए । अहिले केपी ओलीसँगै दुर्गा प्रसाई, बालेन साह ‘सुपरहिट’ भइरहेका छन् । माओवादीको दशक लामो विद्रोह पनि ‘लोकप्रिय परिकल्पना’ मै आधारित थियो । 

लोककल्याणकारी कार्यक्रम सहितको ०५१ को एमाले सरकारको बजेटलाई कांग्रेसले ‘पपुलिष्ट’ भन्यो तर पछि अर्कै नारामा उही कामका लागि बजेट निरन्तरता दियो । सबैले आ–आफ्नो साख जोगाउन पपुलिजकै सहयोग लिइरहका छन् । ठुला नारा दिएर आफ्नो व्यक्तिगत वा गृटगत लक्ष्य हासिल गर्ने उपायका रुपमा ‘लेफ्टीविङ पपुलिज्म’ पनि यतिवेला व्यवहारमा उतारिएको देखिन्छ । देशलाई आधुनिक विकास तर्फ डो¥याउने आफ्नो कुनै मौलिक नारा र अर्गानिक नीति कार्यक्रम र बजेट दलहरुले ल्याउन सकेनन् । नव उदारवादी अर्थतन्त्रको असफलताले असमानता अव्यवस्था र आम गरिवी वर्तमान प्रणालीको उपज भएको छ । बस्तुनिष्ठ कार्यक्रम र रुपान्तरण सम्बन्धी अन्योलले पुराना दलहरुको भविष्य सुनिश्चित देखिदैन । नेपाली कांग्रेस  उदारवादी मूल्य मान्यतामा आधारित जनतान्त्रिक समाजवादी व्यवस्थाबाट निमुख भइसकेको छ । मानवीय सुरक्षाको प्रत्याभूति दिलाउने शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका सबै अवयवबाट विमुख भएर बजारवादमा आधारित नव उदारवाद कांग्रेस नसानसामा प्रवाहित भइसकेका छन् । केन्द्रीकृत राष्ट्रिय राज्य र पहाड केन्द्रित अर्थराजनीतिमा आधारित एमालेको राष्ट्रवादमा पनि खिया लाग्न थालेको छ । विभिन्न नयाँ एजेण्डाहरु उठाएर लोकप्रियतावादीहरु राजनीतिमा उदाउने श्रृखला रोकिने देखिदैन । रवि, बालेन, हर्क, गोपाल जस्ता धेरैले राजनीतिको खालमा लोकप्रियताको च्याँखे थापिरहने छन् ।