काठमाडौं - अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले  प्रशंसा गरेका छन् ।

राष्ट्रपतीय निर्वाचनको मत परिणामबारे औपचारिक रूपमा घोषणा भइनसकेको भएपनि उहाँलाई बधाइ दिने क्रम सुरू भएको हो ।

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले ट्रम्पलाई बधाई दिँदै वासिङ्टन र ब्रसेल्सले ‘बलियो ट्रान्सएटलान्टिक एजेन्डा’मा मिलेर काम गर्ने आशा व्यक्त गर्नुभएको छ । 

उहाँले भन्नुभयो, “म डोनाल्ड जे ट्रम्पलाई हार्दिक बधाई दिन्छु। इयू र अमेरिका असल मित्रभन्दा माथि एकअर्काका भरपर्दा सहयोगी पनि हुन् । हामी हाम्रा जनताबीचको साँचो साझेदारीमा बाँधिएका छौं, जसले ८० करोड नागरिकलाई एकतामा बाँधेको छ ।”

त्यसैगरी, उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का प्रमुख मार्क रुटले ट्रम्पलाई बधाई दिँदै उहाँको सत्तामा पुनरागमनले गठबन्धनलाई ‘बलियो’ राख्न मद्दत पुग्ने बताउनुभएको छ । 

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिँदै भन्नुभयो, “हामीले आगामी चार वर्षसम्म सम्मान र महत्वाकाङ्क्षाका साथ उहाँसँग काम गर्न तयार छौँ।”  

अमेरिकी राष्ट्रपतीय निर्वाचन परिणाममा अग्रता कायम गरिरहेको अवस्थामा नै सामाजिक सञ्जाल ‘एक्स’ मा म्याक्रोँले लेख्नुभएको छ, “तपाईंको र मेरो सम्बन्धले थप शान्ति र समृद्धिका लागि विश्वासको लेखाजोखा गर्नेछ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको ‘चुनावी विजय’को प्रशंसा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “मेरो मित्र डोनाल्ड ट्रम्प तपाईंको ऐतिहासिक चुनावी विजयका लागि हार्दिक बधाई छ।”

परिणाम ट्रम्पको पक्षमा देखिएसँगै चीनले अमेरिकासँग ‘शान्तिपूर्ण सहअस्तित्व’को आशा गरेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित ब्रिफिङमा भन्नुभयो, “हामी पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै पक्षको हितका लागि सहकार्यको सिद्धान्तमा आधारित चीन–अमेरिका सम्बन्धलाई निरन्तरता दिनेछौं ।” उहाँले भन्नुभयो, “हामी अमेरिकी जनताको रोजाइको सम्मान गर्छौं।”

त्यसैगरी, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘प्रभावशाली विजय’ का लागि बधाई दिँदै आफ्नो कार्यकालले युक्रेनमा न्यायोचित शान्ति ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई पूर्व अमेरिकी नेताका लागि ऐतिहासिक पुनरागमन र अमेरिका–इजरायल गठबन्धनको नयाँ सुरुवात भएको बताउनुभएको छ ।