काठमाडौं - पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि राजधानी इस्लामाबादस्थित निजी अस्पताल लैजान तथा परिवारका सदस्यसँग साप्ताहिक भेटघाट गर्न दिन मङ्गलबार आदेश दिएको छ ।
तीन सदस्यीय इजलासले खानलाई आगामी दिनमा शिफा इन्टरनेसनल अस्पतालमा विशेषज्ञ चिकित्सक तथा उनका निजी चिकित्सकमध्ये एक फैसल सुल्तानसहितको मेडिकल बोर्डबाट स्वास्थ्य परीक्षण गराउन आदेश दिएको हो ।
अदालतले जेल प्रशासनलाई खानलाई परिवारका सदस्यसँग साप्ताहिक भेटघाट तथा आफ्ना छोरासँग टेलिफोनमा कुराकानी गर्न अनुमति दिनसमेत निर्देशन दिएको छ । खानको स्वास्थ्य अवस्था र निजी चिकित्सक तथा परिवारका सदस्यलाई भेट्न नदिइएको विषयमा लामो समयदेखि चिन्ता व्यक्त हुँदै आएको थियो ।
खानका वकिल सलमान अक्रम राजाका अनुसार, स्वास्थ्य सेवामा पहुँच पाउनु उनको संवैधानिक अधिकार भएकाले अदालतले अस्पताल लैजान आदेश दिएको हो । उनले अस्पतालमा उपचारका क्रममा समर्थकलाई भीड नगर्न आग्रह गरेका छन् ।
सम्भावित सुरक्षा खतराको सूचनापछि पाकिस्तानले यस वर्षको सुरुदेखि खानलाई राखिएको जेलमा आगन्तुकको प्रवेशमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि खानले अस्पताल स्थानान्तरण तथा निजी चिकित्सक, परिवार र वकिलसँग भेटघाटको अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
यसअघि आँखाको समस्याका कारण खानलाई पटकपटक सरकारी अस्पताल लगिएको थियो । गत जनवरीमा उनको दाहिने आँखाको करिब ८५ प्रतिशत दृष्टि गुमेको परिवारले दाबी गरेको थियो भने सरकारले उक्त दाबी अस्वीकार गरेको थियो । पछि अधिकारीले उनको दृष्टिमा सुधार आएको बताएका थिए ।
क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बनेका खान भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि सन् २०२३ देखि जेलमा छन् । संसद्मा अविश्वास प्रस्ताव पारित भएपछि सन् २०२२ अप्रिलमा उनी प्रधानमन्त्री पदबाट हटेका थिए ।
कानुनी समस्याका बाबजुद खान पाकिस्तानको राजनीतिमा प्रभावशाली व्यक्तित्वका रूपमा रहँदै आएको र उनको समर्थनमा ठूलो जनमत रहेको छ ।


0 comment