काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसिया भ्रमणको पहिलो चरणमा फिलिपिन्सको राजधानी मनिला पुगेका छन्। उनको यो भ्रमण चीनका राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने भेटवार्तापछि सम्पन्न हुनेछ।

मनिलामा एयर फोर्स वनबाट ओर्लिँदा ट्रम्पलाई रातो कार्पेट बिछ्याएर स्वागत गरिएको थियो। त्यसक्रममा उनको मनपर्ने गीतमध्ये एक ‘वाईएमसीए’ बजाइएको थियो। त्यसपछि उनी हेलिकोप्टरमार्फत होटल पुगेका थिए।

आसियान शिखर सम्मेलनका क्रममा ट्रम्पले पहिलो भेट अमेरिकाका क्वाड साझेदारहरूसँग गरेका थिए। उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘निकै कठोर व्यक्ति’ भने भने जापानकी प्रधानमन्त्री साने ताकाइचीलाई ‘सायद अझै कठोर’ रहेको टिप्पणी गरे। त्यस्तै, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग पनि उनले भेट गरे।

‘हाम्रा देशहरू स्वतन्त्र, खुला, स्थिर र समृद्ध हिन्द–प्रशान्त क्षेत्रका चार आधारस्तम्भ हुन्,’ अमेरिकी राष्ट्रपति ट्रम्पले भने।

‘हाम्रो सम्बन्ध उत्कृष्ट छ र हामीबीच नजिकबाट समन्वय भइरहेको छ। मेरो फोन सधैँ खुला छ,’ उनले थपे।

दक्षिणपूर्वी एसियाका धेरै देश डोनाल्ड ट्रम्पले लगाएका भन्सार शुल्क र इरानसँगको युद्धका कारण प्रभावित भएका छन्। तर, कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विस्तारका कारण गत वर्ष अमेरिकातर्फ उनीहरूको निर्यात ३० प्रतिशतले बढेको थियो। एआई प्रविधिका लागि आवश्यक धेरै उपकरण तथा सामग्री यही क्षेत्रमा उत्पादन हुन्छन्।

अमेरिका दक्षिणपूर्वी एसियाका थप देशलाई आफ्नो ‘प्याक्स सिलिका’ प्रविधि तथा एआई सञ्जालमा आबद्ध गराउन चाहन्छ। यसमार्फत ती देशलाई चीनको प्रभावबाट टाढा राख्ने अमेरिकी रणनीति देखिन्छ।

तर, यस क्षेत्रमा चीनको ठूलो प्रभावलाई चुनौती दिन सहज छैन। विशेषगरी ट्रम्प फिलिपिन्समा केही घण्टा मात्र रहने भएकाले त्यस अवधिमा चीनको प्रभाव घटाउन सम्भव देखिँदैन।

मनिलामा एक रात बिताएपछि अमेरिकी राष्ट्रपति चीनको शेनझेन जानेछन्। त्यहाँ एसिया–प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुनुका साथै सी जिनपिङ र भ्लादिमिर पुटिनसँग आणविक विषयमा वार्ता गर्ने कार्यक्रम छ।

पुटिनसँग छुट्टै भेटवार्ता गर्न पनि आफू तयार हुनुहुन्छ कि भन्ने प्रश्नमा ट्रम्पले भने, ‘त्यस्तो अवसर उपलब्ध भए म भेट्न चाहन्छु।’