काठमाडौं– सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन सत्ता ढलेको छ । आइतबार सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलन ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिच नेतृत्वको शासन पतन भएको हो । बुचिचले स्टुडेन्ट लिस्टसँग आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन् । प्रारम्भिक मतपरिणामअनुसार २५० सिट रहेको सर्बियाली संसदमा ‘स्टुडेन्ट लिस्ट’ले १३५ भन्दा धेरै सिट जितेको छ । बुचिचको सत्तारूढ सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) गठबन्धन १०५ सिटमा सीमित भएको छ ।


निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको थियो, जुन सन् २००० मा युगोस्लाभियाको विघटनपछिकै सर्वाधिक उच्च मतदाता सहभागिता हो । नतिजा सार्वजनिक भएसँगै राजधानी बेलग्रेड र नोभी सादलगायत प्रमुख सहरहरूमा हजारौँ युवा तथा नागरिकहरूले विजयोत्सव मनाइरहेका छन् । 

यो ऐतिहासिक राजनीतिक परिवर्तनको आधार नोभेम्बर २०२४ मा नोभी सादस्थित रेल्वे स्टेसनको कङ्क्रिट क्यानोपी भत्किँदा १६ जनाको ज्यान गएको भयानक दुर्घटनापछि बसेको थियो । उक्त दुर्घटनाको मुख्य कारण सरकारी भ्रष्टाचार, कमिसनतन्त्र र गुणस्तरहीन निर्माण कार्य भएको भन्दै देशभरका विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएका थिए  । सुरुमा भ्रष्टाचार र जवाफदेहिताका लागि सुरु भएको सडक आन्दोलन पछि गएर पूर्ण राजनीतिक आन्दोलन र चुनावी मोर्चामा बदलिएको थियो । 

विद्यार्थी नेताहरूले मुटुरोग विशेषज्ञ डा. इलिया स्रदानोभिचको नेतृत्वमा प्राध्यापक, कलाकार, खेलाडी र कृषकहरू सम्मिलित समावेशी उम्मेदवार सूची तयार पारेका थिए । ती अधिकांश उम्मेदवारहरु विजयी भएका छन् । विजय घोषणा भएपछि बोल्दै ‘स्टुडेन्ट लिस्ट’का प्रमुख उम्मेदवार डा. इलिया स्रदानोभिचले भने, ‘आज राति जनताको आवाज सुनिएको छ ।

भोलिदेखि हामी कानुनी राज्य र लोकतन्त्रको पुनरुत्थानका लागि काम सुरु गर्नेछौँ । यदि दृढ इच्छाशक्ति छ भने परिवर्तन सम्भव । यो परिवर्तनले लामो समय शासन सत्तामा रहेकाहरुलाई युवाशक्ती पतनको ओखती बनिरहेको देखिएको छ । युवाहरुले चाहे भने परिवर्तन सम्भव छ भन्ने सन्देश पनि सर्वियाको राजनीतिले दिएको छ ।