काठमाडौं - बंगालको खाडीबाट उत्पन्न शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा ठोक्किएपछि जनजीवन प्रभावित भएको छ। आँधीसँगै प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा हावाहुरी चल्नुका साथै भारी वर्षा भइरहेको छ।
आँधीका कारण आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु भएको छ भने ३१ घरमा क्षति पुगेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै राज्यबाट ५७ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। खराब मौसमका कारण ५० वटा रेल र विजयवाडा तथा विशाखापट्टनम विमानस्थलका २१ उडान रद्द गरिएका छन्।
छिमेकी राज्य ओडिशामा भारी वर्षाका कारण १६ जिल्लाका विद्यालय बन्द गरिएका छन्। त्यहाँ पनि ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। दुवै राज्यमा उद्धार तथा राहतका लागि चार हजार चक्रवात आश्रयस्थल तयार गरिएको छ।
विशाखापट्टनममा अक्टोबर २७ को बिहान ८:३० बजेदेखि अक्टोबर २८ को बिहान ३ बजेसम्म करिब १८ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। यो सहरमा जुलाई महिनामा हुने औसत १३३ मिलिमिटर वर्षाभन्दा डेढ गुणाभन्दा बढी हो।
चक्रवातका कारण आन्ध्र प्रदेश र ओडिशाका तटीय क्षेत्रमा वर्षा तथा हावाहुरीको प्रभाव कायम रहेकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।


0 comment