काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर आलोचक ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा आइतबार पुनः निर्वाचित भएका छन्।
उनको जितले ल्याटिन अमेरिकामा अमेरिकाको बढ्दो प्रभावको आलोचना गर्नेहरूलाई राहत दिएको छ। शतप्रतिशत मतगणना सम्पन्न भएपछि ब्राजिलको निर्वाचन अदालतले ८१ वर्ष पुग्न लागेका लुलाले आफ्ना प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोभन्दा करिब ४४ लाख मत बढी प्राप्त गरेको घोषणा गरेको छ। लुलाले कुल सदर मतको ५१.८ प्रतिशत मत प्राप्त गरेका छन्।
फ्लाभियो बोल्सोनारोले भने तत्कालै आफ्नो हार स्वीकार गर्न अस्वीकार गरेका छन्। केही मतदान केन्द्रमा साँझको समयमा उत्पन्न अव्यवस्थापछि अन्तिम समयमा मतदानको समय दुई घण्टा थपिएको थियो। त्यसपछि बोल्सोनारोले निर्वाचनको नतिजा खारेज गर्न माग गरेका छन्।
फ्लाभियो पूर्वराष्ट्रपति जैर बोल्सोनारोका छोरा हुन्। लुलाले सन् २०२२ को निर्वाचनमा जैर बोल्सोनारोलाई पराजित गर्दै राष्ट्रपति पदमा पुनरागमन गरेका थिए।
लुलाको जितले ल्याटिन अमेरिकामा ट्रम्पसँग निकट सम्बन्ध राख्ने दक्षिणपन्थी उम्मेदवारहरूको विजयको क्षेत्रीय प्रवृत्तिलाई चुनौती दिएको छ।
यसले वार्षिक २६ खर्ब अमेरिकी डलरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) रहेको ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र ब्राजिलले ट्रम्पका मागहरूलाई चुनौती दिइरहने सम्भावना पनि बढाएको छ। अमेरिकाले भन्सार शुल्क बढाएर दबाब सिर्जना गरे पनि ब्राजिलले आफ्नो वर्तमान नीतिलाई निरन्तरता दिन सक्ने एपीले उल्लेख गरेको छ ।


0 comment