काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका मृतकका परिवारसँग भेट गरेका छन्। छठ पर्व मनाउन सर्लाही पुगेका थापाले दुर्घटनाबाट प्रभावित चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका पीडित परिवारलाई भेटेका हुन्।
भेटका क्रममा दुर्घटनामा अभिभावक गुमाएर सहाराविहीन बनेका बालबालिकाको पठनपाठनको जिम्मेवारी सरकारले लिनुपर्ने विषयमा जोड दिइएको थियो। त्यस्तै, पीडित परिवारका सदस्यलाई उचित रोजगारीको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको थियो।
गत कात्तिक २६ गते बिहान करिब ६ बजे छठ पर्व मनाउन काठमाडौं हुँदै सर्लाही आउँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा तीन बालिकासहित १४ जनाको मृत्यु भएको थियो। मृतकमध्ये अधिकांश सर्लाहीका बासिन्दा थिए। उक्त दुर्घटनामा एकै परिवारका छ जनाले ज्यान गुमाएका थिए।


0 comment