काठमाडौं - निर्वाचन आयोगले स्थानीय तहको चुनावको मितिबारे छलफल गर्न राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरूलाई बोलाएको छ । स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिँदै गर्दै आयोगले दलहरुलाई छलफलमा बोलाएको हो । निर्वाचन आयोगका आयुक्त गुरुप्रसाद वाग्लेका अनुसार दलहरूलाई  मंसिर ४ गते छलफलमा डाकिएको छ । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा सकिँदैछ ।

प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरुमा रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा गरी ६ दल रहेका छन् ।  स्थानीय तहको निर्वाचनलाई दलहरुले विशेष चासो र महत्व दिएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा सिट गुमाएका विशेषगरी कांग्रेस र एमालेका लागि स्थानीय तहको निर्वाचन पनि चुनौतीपूर्ण बनेको छ । कतै प्रतिनिधिसभाको निर्वाचनमा झै स्थानीयमा पनि घण्टीकै वर्चस्व हुने पो हो कि भन्ने त्रासले गर्दा मतदातालाई विश्वास दललाउन ती दलहरुले गाउँ पस्ने अभियान चलाउँदैछन् ।