काठमाडौं - भारतको राजधानी नयाँदिल्लीमा मुख्य निर्वाचन आयुक्तको राजीनामा र निर्वाचन प्रणालीमा सुधारको माग गर्दै विपक्षी दलहरूले विशाल प्रदर्शन गर्ने तयारी गरेका छन्।
उक्त प्रदर्शनमा हजारौँ मानिस सहभागी हुने अपेक्षा गरिएको छ।
प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको आह्वानमा हुन लागेको प्रदर्शन दिउँसो करिब १२ बजे प्रसिद्ध रामलीला मैदानमा सुरु हुनेछ। कांग्रेसका नेताहरूले प्रदर्शनमा १० लाखसम्म मानिस सहभागी हुन सक्ने दाबी गरेका छन्।
कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन ‘इन्डिया’का विभिन्न शीर्ष नेताहरूले प्रदर्शनमा सहभागी हुने बताएका छन्। प्रभावशाली युवा पुस्ताको दबाब समूह ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले समेत प्रदर्शनलाई समर्थन गर्ने जनाएको छ।
भारतभर मतदाता नामावली पुनरावलोकन गर्ने प्रक्रियालाई लिएर आलोचना बढिरहेका बेला यो प्रदर्शन हुन लागेको हो। उक्त प्रक्रिया अन्तर्गत भारतभरका प्रारम्भिक मतदाता सूचीबाट १३ करोड नाम हटाइएको छ।
भारतीय निर्वाचन आयोग (ईसीआई) ले मृत्यु भएका वा आफ्नो दर्ता भएको ठेगाना छाडेर अन्यत्र बसाइँ सरेका व्यक्तिहरूको नाम हटाउँदै मतदाता सूची अद्यावधिक गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको जनाएको छ।
तर विपक्षी दलहरूले भने ‘विशेष गहन पुनरावलोकन’ (स्पेसल इन्टेन्सिभ रिभिजन–एसआईआर) नाम दिइएको यो प्रक्रियाबाट योग्य मतदाताको नामसमेत हट्न सक्ने र त्यसले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्ने आरोप लगाएका छन्।
विपक्षी दलहरूले मुख्य निर्वाचन आयुक्त र भाजपामाथि ‘भोट चोरी’ अर्थात् मत चोरी गरेको आरोप लगाएका छन्। यद्यपि, भाजपा र भारतीय निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गरेका छन्।
सेप्टेम्बरमा ‘द इन्डियन एक्सप्रेस’ पत्रिकाले प्रकाशित गरेको एक अनुसन्धानमूलक रिपोर्टपछि यो विवाद थप चर्किएको थियो।
उक्त रिपोर्टअनुसार मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले मतदाता नामावली पुनरावलोकनसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू अन्य दुई निर्वाचन आयुक्तको सहमतिबिनै गरेका थिए। ती दुई आयुक्तले यस प्रक्रियाका विषयमा एक दर्जनभन्दा बढी पटक आपत्ति जनाएका थिए।
यस घटनाले भारतीय निर्वाचन आयोगको कार्यशैली, निष्पक्षता र निर्वाचन प्रक्रियाको पारदर्शितामाथि थप प्रश्न उठाएको छ।


0 comment