काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि आफ्नो पोल्टामा पारेको हो।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्यो। सुदूरपश्चिमको जितमा जर्ज मुन्सेले आक्रामक ब्याटिङ गर्दै ४९ बलमा शतक पूरा गरे। उनले ८ चौका र ८ छक्का प्रहार गरे। उनलाई विनोद भण्डारीले उत्कृष्ट साथ दिएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। तर, लुम्बिनीले प्रस्तुत गरेको चुनौतीपूर्ण लक्ष्य सुदूरपश्चिमका ओपनरले सहजै पार गरेपछि टोलीले एकतर्फी जित निकाल्यो। उपाधि जितेसँगै त्रिवि क्रिकेट मैदानमा आतिशबाजीसमेत गरिएको थियो।
यसैबीच, एनपीएलको तेस्रो संस्करणको विजेता सुदूरपश्चिम रोयल्सलाई प्रधानमन्त्री बालेन शाहले बधाई दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिँदै प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको पूर्वाधार विकासका लागि आठवटै क्लबलाई आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहका अनुसार एनपीएलको छैटौँ संस्करणदेखि प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने लक्ष्यसहित रंगशाला निर्माणको तयारी अघि बढाइएको छ।
फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै उनले आगामी तीन महिनाभित्र बाँकी सातवटै रंगशालाको निर्माण प्रक्रिया पनि अघि बढाइने बताएका छन्।


0 comment