काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी)का अध्यक्ष तथा उच्च अधिकारीसँग भेटवार्ता गरेका छन् ।
थाइल्यान्डको बैङ्ककमा आयोजित एएफसी अवार्डसका अवसरमा मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेट गरेका हुन्।
भेटवार्ताका क्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथिको निलम्बन फुकुवा गर्ने विषयमा सकारात्मक छलफल भएको मन्त्री पोखरेलले बताए। मन्त्री पोखरेलका अनुसार छलफलमा एन्फाको कानुनी प्रक्रिया, तहगत निर्वाचन र निलम्बन फुकुवाका विषयमा कुराकानी भएको थियो ।
एन्फाले तहगत निर्वाचन गर्ने सहमति जनाएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि एन्फामाथिको प्रतिबन्ध फुकुवा गरिसकेको छ । राखेपले प्रतिबन्ध हटाएसँगै फिफाले पनि एन्फामाथिको निलम्बन फुकुवा गर्ने मौखिक सहमति जनाएको बताइएको छ ।
यसरी आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी फिफाबाट निलम्बन फुकुवा हुने अपेक्षा गरिएको छ ।


0 comment