काठमाडौं - इङ्गल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले लर्ड्समा आगामी जुन महिनामा नेपाल र बङ्गलादेशबीच पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने भएको छ ।

बिहीबार नेपाल क्रिकेट संघ(क्यान) र मेरिलेबोन क्रिकेट क्लबले कीर्तिपुरस्थित त्रिवि मैदानमा पत्रकार सम्मेलन गर्दै ३ जुन २०२७ मा लर्ड्समा उक्त खेल हुने जनाएको हो । उक्त खेलपछि मिडलसेक्स टी–२० ब्लास्ट खेल पनि आयोजना हुने क्यानले जनाएको छ । इङ्गल्याण्ड भ्रमणका क्रममा नेपालले वोम्र्सले र बेकेनहममा हुने अन्तर्राष्ट्रिय खेलहरूको शृङ्खलामा आयरल्याण्ड र स्कटल्याण्डको पनि सामना गर्नेछ ।

विश्वभर ‘स्पिरिट अफ क्रिकेट’ को अवधारणा फैलाउने एमसीसीको कार्यक्रमअन्तर्गत क्लबले गत वर्ष नेपाल प्रिमियर लिगमा स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गर्न क्यानसँग साझेदारी गरेको थियो । जारी प्रतियोगिताको समापनमा अर्को अवार्ड प्रदान गरिने एमसीसीका प्रमुख कार्यकारी अधिकृत तथा सचिव रोबर्ट लसनले बताए । उनले एमसीसी र क्यानबीचको सम्बन्ध बढ्दै गएको भन्दै लड्समा  नेपाल र बङ्गलादेशको टोलीलाई स्वागत गर्न प्रतिक्षारत रहेको उल्लेख गरे । 

त्यस्तै नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले क्रिकेटको घर लर्ड्समा जानु सधैँ अपार गर्व र सम्मानको क्षण भएको बताए । नेपालमा क्रिकेटको विकासमा एमसीसीको निरन्तर साझेदारी र योगदानलाई क्यानले उच्च महत्वका साथ लिएको उनले उल्लेख गरे । त्यस्तै नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्दले लड्र्स मैदानमा बङ्गलादेशविरुद्धको ऐतिहासिक खेलका लागि उत्साहित रहेको बताए ।