काठमाडौं - युक्रेनको स्टारसिल्ड स्याटेलाइट सञ्चार प्रणालीमाथि लगाइएका प्रतिबन्धका कारण रुसी ड्रोनलाई रोक्ने क्षमतामा बाधा पुगेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार बताएका छन्।

अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले सञ्चालन गर्ने उक्त प्रणालीमाथिको प्रतिबन्धले आगामी हिउँदअघि युक्रेनको ऊर्जा पूर्वाधारको सुरक्षा कमजोर बनाउन सक्ने उनले चेतावनी दिएका छन्। रुसले यसअघि पनि हिउँदको समयमा युक्रेनको विद्युत् प्रसारण प्रणालीलाई बारम्बार निशाना बनाउँदै आएको छ।

जेलेन्स्कीका अनुसार अग्रपंक्तिमा र रुसको कब्जामा रहेका क्षेत्रमा प्रतिघण्टा १६१ किलोमिटर (१०० माइल) भन्दा बढी गतिमा उड्दा युक्रेनका इन्टरसेप्टर ड्रोनको सञ्चालकसँगको सम्पर्क टुट्ने गरेको छ। यसका कारण ती ड्रोनले रुसी शाहेद ड्रोनलाई रोक्न सकेका छैनन्।

‘हामी यी प्रतिबन्ध हटाइने अपेक्षामा छौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

‘हिउँदअघि नागरिकको जीवन र युक्रेनको ऊर्जा पूर्वाधारको सुरक्षा यसैमा निर्भर छ। परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र राष्ट्रपतिको कार्यालयलाई अमेरिकी पक्ष तथा स्पेसएक्ससँग नजिकबाट समन्वय गरी काम गर्न निर्देशन दिइएको छ। इतिहासको सही पक्षमा उभिनु महत्त्वपूर्ण छ। हामीलाई युक्रेनलाई सहयोग गर्न आवश्यक छ,’ उनले भनेका छन्।

शनिबार जेलेन्स्कीले यो समस्या प्राविधिक हो कि होइन भन्ने प्रश्न उठाएका थिए। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसअघि स्टारसिल्ड प्रणालीमाथि अमेरिकी सरकारको बढी नियन्त्रण रहेको आश्वासन दिए पनि स्पेसएक्सले नै प्रतिबन्ध लगाएको देखिएको उनको भनाइ थियो।