काठमाडौं - बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवाती आँधी ‘अर्णव’को प्रभाव भारतका तटीय राज्यमा देखिएको छ। यसले आन्ध्र प्रदेश र ओडिशामा जनधनको क्षति पुर्‍याउनुका साथै नेपालमा पनि वर्षा र हिमपात गराउन सक्ने अनुमान गरिएको छ।

भारतको आन्ध्र प्रदेश र ओडिशाका तटीय क्षेत्रमा चक्रवातका कारण तीव्र हावाहुरी र भारी वर्षा भएको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात कमजोर हुँदै गए पनि यसले निम्त्याएको वर्षा र हावाहुरीको प्रभाव कायम छ।

चक्रवात उत्तर–पश्चिम दिशातर्फ अघि बढ्ने क्रममा प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा हावा चलेको थियो। केही स्थानमा हावाको गति प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको बताइएको छ। विशाखापट्टनम र अनाकापल्ली जिल्लामा २०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।

आन्ध्र प्रदेशमा आँधीहुरी र बाढीका कारण तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। हजारौँ रुख ढलेका छन् भने सडक तथा विद्युत् सेवा प्रभावित भएका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशबाट करिब ८९ हजार र ओडिशाबाट ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। उद्धार तथा राहतका लागि राष्ट्रिय र राज्यस्तरीय विपद् व्यवस्थापन टोली परिचालन गरिएको छ। खराब मौसमका कारण विशाखापट्टनम, विजयवाडा र राजामुन्द्रीका विभिन्न उडान तथा रेल सेवा पनि रद्द गरिएका छन्।

नेपालमा वर्षा र हिमपातको सम्भावना

चक्रवातको प्रभाव नेपालसम्म आइपुग्न सक्ने सम्भावनाले मौसमप्रति चासो बढाएको छ। समुद्रमा विकसित हुने चक्रवात जमिनमा प्रवेश गरेपछि सामान्यतया कमजोर हुँदै जान्छ। तर यसले बोकेको जलवाष्प, अन्य मौसमी प्रणालीसँगको अन्तरक्रिया र हिमालयको भौगोलिक बनावटका कारण नेपालमा समेत वर्षा हुन सक्छ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसमसम्बन्धी बुलेटिनअनुसार कात्तिक १२ गतेदेखि केही प्रदेशमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। कात्तिक १३ र १४ गते केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

यस्तो बेला विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने, नदी तथा खोलानजिक बस्ने र जोखिमयुक्त भूभागमा रहेका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।