काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राजनीतिक उद्देश्य भएका संस्था तथा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यका रूपमा आबद्ध आफ्ना पदाधिकारी तथा सदस्यलाई सात दिनभित्र त्यस्तो जिम्मेवारी त्याग्न निर्देशन दिएको छ।
संघका महासचिव चिरञ्जीवी खड्काले अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्यलाई परिपत्र जारी गर्दै राजनीतिक संस्थामा रहेको पद वा सदस्यता त्याग्न निर्देशन दिएका हुन्।
संघका केही पदाधिकारी तथा सदस्य राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा पदाधिकारी तथा कार्यकारी सदस्यका रूपमा आबद्ध रहेको भन्दै उजुरी तथा गुनासो प्राप्त भएपछि यस्तो निर्देशन जारी गरिएको परिपत्रमा उल्लेख छ।
गत असोज १८ र १९ गते (अक्टोबर ४ र ५, २०२६) सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११७औँ बैठकमा यस विषयमा छलफल भएको थियो। बैठकले संघको विधानअनुसार गैरराजनीतिक पहिचान कायम राख्ने निर्णय गरेपछि परिपत्र जारी गरिएको जनाइएको छ।
संघको विधान, २००३ (सन् २०२६ को संशोधनसहित) ले एनआरएनएलाई गैरराजनीतिक संस्थाका रूपमा परिभाषित गरेको छ। सोही व्यवस्थालाई कार्यान्वयन गर्दै राजनीतिक उद्देश्य भएका संस्था तथा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यको जिम्मेवारी नलिन संघले निर्देशन दिएको हो।


0 comment