काठमाडौं - काठमाडौं–तराई/मधेश द्रुतमार्गमा निर्माण भइरहेको सबैभन्दा लामो महादेवटार सुरुङ बुधबार‘ब्रेक थ्रु’ हुने भएको छ।
नेपाली सेनाका सूचना अधिकारी तथा सहायक रथी राजाराम बस्नेतका अनुसार उक्त सुरुङमार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने भएका छन्। ३ हजार ४५५ मिटर लामो सुरुङको दायाँ ट्युब राष्ट्रपति पौडेलको उपस्थितिमा छिचोल्न लागिएको हो। यो द्रुतमार्गमा निर्माणाधीन सुरुङमध्ये सबैभन्दा लामो हो।
३ हजार ४५५ मिटर लामो सुरुङको दायाँ ट्युब राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा छिचोल्न लागिएको हो। यसअघि गत भदौमा बायाँ ट्युब ‘ब्रेकथ्रु’ भएको थियो। बुधबार दायाँ ट्युबको ‘ब्रेक थ्रु’ भएसँगै आयोजनाको सबैभन्दा लामो महादेवटार सुरुङमार्ग छिचोल्ने काम सम्पन्न हुनेछ।
द्रुतमार्गमा सातावटा सुरुङमार्ग निर्माण भइरहेका छन्। जसमध्ये तीनवटा पूरा भइसकेको छ भने चारवटा अन्तिम चरणमा पुगेका छन्। अब २ हजार २३७ मिटरको चन्द्रामभिर सुरुङ, १ हजार मिटर देवीचौर सुरुङ, ३९० मिटर सिसौटार सुरुङ र ५८३ मिटर मौरीभिर सुरुङ ‘ब्रेक थ्रु’ हुन बाँकी छ।
सरकारले ४ वर्षभित्र निर्माणसम्पन्न गर्ने गरी २०७४ वैशाख २१ गते द्रुतमार्ग सडक निर्माण व्यवस्थापनको जिम्मेवारी सेनालाई सुम्पेको थियो। निर्धारित समयभित्र काम सम्पन्न हुन नसक्ने देखेपछि सरकारले म्याद तीन वर्ष थप गरेर २०८६ चैतसम्म पुर्याएको छ।


0 comment