काठमाडौं - पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा हुन लागेको मध्यावधि निर्वाचनअघि डेमोक्र्याटिक पार्टीका उम्मेदवारको पक्षमा चुनावी अभियान चलाउँदै इरान युद्ध र उपभोक्ता वस्तुको बढ्दो मूल्यलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कडा आलोचना गरेका छन्।

शनिबार ओहायोमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओबामाले भने, “यो निर्वाचन कम्तीमा पनि यस प्रशासनका केही मूर्खतापूर्ण गतिविधिलाई नियन्त्रण गर्ने हाम्रो अन्तिम र सबैभन्दा राम्रो अवसर हो।”

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियामा आयोजित चुनावी सभामा आफ्नो प्रशासनको आप्रवासन तथा भन्सार नीतिको बचाउ गर्दै समर्थकहरूलाई भने “हामी अमेरिकाको स्वर्ण युगमा छौँ।”

आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनले ट्रम्पको बाँकी कार्यकालका लागि अमेरिकी संसद् (कंग्रेस) मा कुन दलको नियन्त्रण रहने भन्ने निर्णय गर्नेछ। त्यसले राष्ट्रपतिलाई आफ्ना योजना कार्यान्वयन गर्न कति सहज हुन्छ भन्ने पनि निर्धारण गर्नेछ।

निर्वाचनका लागि प्रारम्भिक मतदान सुरु भइसकेको छ। ट्रम्पले शनिबार फ्लोरिडामा आफ्नी पत्नी तथा प्रथम महिला मेलानिया ट्रम्पसँगै मतदान गरेका छन्।

शनिबार ओहायो र मिसिगनमा आयोजित चुनावी कार्यक्रममा बोल्दै ओबामाले ट्रम्प र उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई निशाना बनाए। उनले ह्वाइट हाउसको सजावट परिवर्तन गर्ने ट्रम्पको प्रयासको समेत व्यङ्ग्य गरे।

क्लिभल्यान्डमा आयोजित सभामा पूर्वराष्ट्रपति ओबामाले भने “आधुनिक युगमा विरलै देखिएको दुई वर्षको अराजकता, क्रूरता, भ्रष्टाचार र अक्षमतापछि अब तपाईँहरूले ‘अति भयो, अब पुग्यो’ भन्ने अवसर पाउनुभएको छ।”

ओबामाले कोभिड महामारीपछि अर्थतन्त्र र महँगीलाई लिएर असन्तुष्ट हुँदै सन् २०२४ मा डेमोक्र्याटिक पार्टीलाई अस्वीकार गरेका मतदाताप्रति आफूले सहानुभूति राख्ने बताए। तर अहिले अमेरिकी अर्थतन्त्रको अवस्था बिग्रनुमा ट्रम्प स्वयं जिम्मेवार रहेको उनको भनाइ थियो।

ट्रम्पको नाम नलिई व्यङ्ग्य गर्दै ओबामाले भने, “यदि ‘तपाईँलाई थाहा छ को’ आउनुअघि सबै कुरा महँगो लागेको थियो भने अहिले सबै कुरा झन् महँगो भएको छ।”

यसैबीच ट्रम्पले तेलको मूल्य अस्थायी रूपमा उच्च रहेको स्वीकार गरे। तर उनले अमेरिकाको अवस्था निरन्तर बलियो बन्दै गएको दाबी गर्दै इन्धनको मूल्य घट्ने बताए।

इरान र युक्रेनमा जारी युद्धका कारण इन्धनको मूल्य बढेपछि ट्रम्पमाथि त्यसलाई घटाउन दबाब बढिरहेको छ।

अर्थतन्त्रको प्रशंसा गर्दै जर्जियाको पेरीमा आयोजित सभामा ट्रम्पले भने, “हामी भन्सार शुल्कबाट ठूलो मात्रामा पैसा संकलन गरिरहेका छौँ।”

उनले रिपब्लिकन पार्टीले संसद्का दुवै सदनमा बहुमत हासिल गरेमा प्रत्येक वयस्क अमेरिकी नागरिकलाई पाँच हजार अमेरिकी डलर उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पनि दोहोर्‍याए।

ट्रम्पले डेमोक्र्याटिक पार्टीमाथि पनि आक्रामक टिप्पणी गरे। उनले डेमोक्र्याटहरूले अमेरिकी नागरिकको सम्पत्ति लुट्ने र देशका सीमाहरू ध्वस्त पार्ने आरोप लगाए।

अपमानजनक शब्द प्रयोग गर्दै ट्रम्पले डेमोक्र्याटहरूले लिबिया, यमन, हाइटी र सोमालियाबाट आप्रवासी भित्र्याउन खोजेको आरोप लगाए। उनले ती देशहरूलाई ‘आतंकवादले ग्रस्त’ देशको संज्ञासमेत दिए।

केही सिनेटरसँग भएको अघिल्लो भेटको प्रसङ्ग सुनाउँदै ट्रम्पले आप्रवासी छनोटबारे आफूले गरेको भनिएको टिप्पणी पनि दोहोर्‍याए।

उनले भने, “मैले भनेँ, ‘हामीले किन सधैँ अत्यन्तै खराब देशहरूबाट मानिस ल्याउनुपर्छ? नर्वे, स्विडेनजस्ता देशबाट किन ल्याउन सक्दैनौँ? डेनमार्कबाट किन नल्याउने?’”

ओहायोमा पूर्वराष्ट्रपति बाराक ओबामाले इरान युद्धलाई लिएर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन्। डेमोक्र्याटिक पार्टीका समर्थकहरूलाई सम्बोधन गर्दै ओबामाले उक्त युद्धका कारण इरानले स्ट्रेट अफ हर्मुजमाथि ‘भिटो शक्ति’ प्राप्त गरेको बताएका छन्।

यसै दिनको सुरुमा युद्धबारे सोधिएको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, “मैले यो काम निकै प्रभावकारी ढङ्गले गरेको छु। अब मैले यसलाई अन्तिम निष्कर्षमा पुर्‍याउनुपर्ने हुन सक्छ, वा उनीहरूले सम्झौता गर्न सक्छन्। तर, म निश्चित छैन। जे भए पनि, जित हाम्रै हुन्छ।”

ह्वाइट हाउसले रुसको कब्जामा रहेको एक सहरमा युद्धविराम गराउन प्रथम महिला मेलानिया ट्रम्प सफल भएको घोषणा गरेपछि उनी युक्रेन भ्रमणमा जाने सम्भावनाबारे पनि ट्रम्पलाई प्रश्न गरिएको थियो।