काठमाडौं - सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन कायम गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा बाह्रखरी मिडियाको आठौँ संस्करणको कथा प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्दै सभामुख अर्यालले जनताको अपेक्षा र विश्वासअनुसार सरकारले इमानदारी, पारदर्शिता तथा जवाफदेहिताका साथ काम गर्नुपर्ने बताए । उनले सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र जनभावनाअनुसार कानुन निर्माण गर्ने कार्यमा सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गरे ।
उनले जेनजी विद्रोहपछि नेपाली राजनीतिमा महत्वपूर्ण परिवर्तन आएको उल्ल्ेख गर्दै युवा नेतृत्वको अगुवाइमा राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो जनमतसहित शासन सञ्चालनको जिम्मेवारीमा पुगेको बताए । उनले राज्यसँग उपलब्ध साधन र स्रोत सीमित भए पनि तिनको पारदर्शी तथा प्रभावकारी परिचालन गर्न सके विकास र समृद्धिको यात्रालाई गति दिन सकिने उनले धारणा राखे । सभामुख अर्यालले साहित्यकारहरूले समाजमा रहेका विकृति, विसङ्गति र समस्यामाथि प्रश्न उठाउनुका साथै सकारात्मक प्रयास तथा असल अभ्यासलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
उनले साहित्यले समाजका समस्या, नागरिकका भावना र यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने भएकाले साहित्य तथा साहित्यकारप्रति आफ्नो उच्च सम्मान रहेको बताए । व्यवस्थापिकाको नेतृत्वकर्ताका रूपमा जनताको आवश्यकता र भावनालाई सम्बोधन गर्ने कानुन निर्माण प्रक्रियालाई प्रभावकारी बनाउनु आफ्नो प्रमुख दायित्व रहेको उल्लेख गर्दै अर्यालले नीति निर्माता तथा जनप्रतिनिधिहरूले समाजका वास्तविक समस्या र नागरिकका पीडा बुझ्न साहित्यको अध्ययन गर्नुपर्नेमा जोड दिए ।
बाह्रखरी मिडियाद्वारा आयोजित आठौँ संस्करणको डिगो १२खरी कथा प्रतियोगिता, २०८३ मा चेतनाथ आचार्यको कथा भोटेकोशीको सुसाहट प्रथम भएको छ। प्रथम स्थान हासिल गरेका आचार्यले नगद दुई लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा मधुर भट्टराईको कथा सपनाको अर्को रङ्ग द्वितीय रसरस्वती सरसको कथा अस्तित्वको अल्गोरिदम तृतीय भएको थियो ।
साहित्यको लोकप्रिय विधा भए पनि पछिल्लो समय कथा लेखनप्रतिको आकर्षण घट्दै गएको सन्दर्भमा कथा लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले बाह्रखरी मिडियाले विगत आठ वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आएको छ। सोही अवसरमा यस प्रतियोगिताको आठौँ संस्करणमा उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा, २०८३’ विमोचन गरिएको थियो ।


0 comment