काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधारको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले घरेलु खेलकुदको सबैभन्दा ठूलो उत्सवका रूपमा रहेको यस प्रतियोगिताले खेलकुदको माध्यमबाट कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउनसमेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।
“प्रिय कर्णाली, घरेलु खेलकुदको सबैभन्दा ठूलो उत्सव राष्ट्रिय खेलकुद प्रतियोगिताको दसौँ संस्करण यसपटक तपाईंहरूको प्रदेशमा आयोजना हुँदैछ । कर्णालीले पहिलोपटक यति ठूलो खेलकुद ‘महाकुम्भ’को आयोजना गर्दैछ । त्यसैले तपाईंहरू नागरिकस्तरबाटै यस खेलकुदलाई साथ समर्थन गर्नु हुनेछ भन्ने अपेक्षा छ । जय कर्णाली ! जय खेलकुद ! जय जय नेपाल !”, प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा भनेका छन् ।
हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका अहिलेसम्म नौ वटा मात्र संस्करण आयोजना हुनु दु:खद् पक्ष भएको जनाउँदै उनले अब सरकारले प्रतियोगिताको उद्देश्यअनुरूप नियमित रूपमा आयोजना गर्न र यसको स्तर अभिवृद्धिमा गम्भिरतापूर्वक काम गर्ने बताए ।
प्रधानमन्त्री शाहले उक्त प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता र आपसी सद्भावलाई थप बलियो बनाउन प्रेरणा प्रदान गरोस् भनी कामना गरे । उनले प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना पनि व्यक्त गरे ।
दसौँ संस्करणको उक्त प्रतियोगिताको औपचारिक उद्घाटन यही मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भए पनि मुख्य खेल मङ्सिर ८ गतेदेखि सुरु हुँदैछन् ।
प्रधानमन्त्री शाहले प्रतियोगितामा राष्ट्रियस्तरका आठ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारीहरू कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने जनाए।


0 comment