काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई हिन्दुराष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाउनुमा राजनीतिक दलहरूको भूमिका रहेको आरोप लगाएका छन् ।

आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रिय महाविधेशनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले नेपाललाई पुनः सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै धर्म र राजनीतिलाई अलग गरेर हेर्न नहुने धारणा व्यक्त गरे। अध्यक्ष लिङ्देनले राजनीतिमा धर्मको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै धर्म र राजनीतिलाई एकअर्काबाट अलग गर्दा राजनीति गलत दिशातर्फ अघि बढ्न सक्ने बताए। उनले धर्म र राजनीति एकअर्काका परिपूरक भएको भन्दै दुवै सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिए। 

उनले नेपालजस्तो धार्मिक, सांस्कृतिक तथा मौलिक पहिचान बोकेको मुलुकमा सनातन हिन्दुराष्ट्रको महत्व रहेको उल्लेख गर्दै नेपालको परम्परा, संस्कृति र सभ्यताको संरक्षणका लागि पनि हिन्दुराष्ट्र आवश्यक रहेको बताए।अध्यक्ष लिङ्देनले राजनीतिक दलहरूले विदेशी शक्तिको चाहना, दबाब र प्रलोभनमा परेर नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएको आरोप समेत लगाए। नेपाली जनताको भावना र देशको मौलिक पहिचानलाई बेवास्ता गर्दै धर्मनिरपेक्षताको निर्णय गरिएको उनको आरोप छ। अध्यक्ष लिङ्देनले नेपालको राष्ट्रिय पहिचान, धार्मिक स्वतन्त्रता र सनातन संस्कृतिको संरक्षणका लागि हिन्दुराष्ट्र पुनःस्थापनाको विषयलाई राजनीतिक तथा राष्ट्रिय बहसको केन्द्रमा ल्याउनुपर्ने बताए।

त्यस्तै(राप्रपा) की सांसद खुश्बु ओलीले हिन्दू राष्ट्र स्थापनाका लागि सडक र सदन दुवैबाट सशक्त आवाज उठाउनुपर्ने बताइन् । धार्मिक गुरुहरूलाई मठ मन्दिरमा आउने सबै राजनीतिक दलका नेताहरुलाई हिन्दु राष्ट्र बनाउनको लागि दबाब दिन पनि आग्रह गरिन् ।