काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा अवरोध सिर्जना गरे आफ्नो सहयोगी राष्ट्र ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका छन्। फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले वार्तामा अवरोध सिर्जना गरे ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका हुन्।

विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग (जलडमरूमध्य) पुनः सञ्चालन गर्न अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै वार्ता गरिरहेका छन्। अमेरिका र इरानबीचको द्वन्द्वका कारण यो जलमार्ग विगत छ महिनादेखि प्रायः ठप्प छ।

ट्रम्पले ओमानतर्फ लक्षित गर्दै भनेका छन्, 'यदि ओमान हाम्रो बाटोमा बाधक बन्यो भने, हामी उनीहरूमाथि भारी बमबारी गर्नेछौँ।'

ओमानले इरानसँग जलमार्ग सुचारु गर्ने सम्झौता अन्तिम चरणमा पुगेको घोषणा गरेको केही घण्टामै ट्रम्पको यो कडा टिप्पणी बाहिर आएको हो। इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाईका अनुसार दुवै देशबीच यातायात मार्गको ढाँचामा सहमति भइसकेको छ।

यसैबीच, अमेरिका र इरानबीच भएको ६० दिने सहमति पत्रको समयावधि सकिनै लाग्दा वार्ताको भविष्य अन्योलमा परेको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले उक्त सम्झौताको अवधि थप्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्।

इरानको इस्लामिक क्रान्तिकारी गार्ड टोली (आइआरजीसी) सँग अमेरिकाको प्रत्यक्ष अप्रत्यक्ष वार्ता भइरहेको ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेको छ। इरानी समाचार संस्थासँग कुरा गर्दै उक्त टोलीका प्रवक्ताले ट्रम्पको दाबीलाई 'भ्रम र कपोलकल्पित' भनेका छन्।

गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता विश्वको कुल तेल तथा पेट्रोलियम, ग्यास आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने हर्मुज जलमार्ग अवरुद्ध हुँदै आएको छ। तटस्थ राष्ट्र मानिने ओमानले यो जलमार्ग सुचारु गराउन मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ।