काठमाडौं - भारतको बिहारस्थित लखीसरायमा रहेको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार बिहान भागदौड मच्चिँदा सात जनाको मृत्यु भएको छ।
भाद्र महिनाको पहिलो सोमबार परेकाले भगवान शिवको जलाभिषेकका लागि मन्दिरमा भक्तजनहरूको ठूलो भीड जम्मा भएको समयमा यो घटना भएको हो। प्रशासनिक अधिकारीहरूका अनुसार मृत्यु हुने सबै सात जना महिला रहेका छन्।
लखीसरायका प्रमुख जिल्ला अधिकारी (डीएम) शैलेन्द्र कुमार र सब-डिभिजनल पुलिस अफिसर (एसडीपीओ) शिवम कुमारका अनुसार अशोकधाम हाल्ट रेलवे स्टेसनबाट मन्दिरतर्फ जाने बाटोमा भक्तजनको लामो लाइन थियो। सोही समयमा स्टेसनमा दुईवटा रेल आएका थिए।
त्यसैबीच तार चुटिएपछि बिजुलीको पोल नै ढलेर करेन्ट प्रवाह भएको अफवाह फैलिएका कारण लाइनमा बसेका दर्शनार्थीहरूमा भागदौड मच्चिएको थियो, जसका कारण महिलाहरूको लाइनमा एक्कासी चाप बढ्दा उनीहरू एक अर्कामाथि लड्दा थिचिएर निसास्सिएका थिए।
घटनामा घाइते हुनेहरूको संख्याबारे फरक-फरक विवरण आएका छन्। प्रशासनिक प्रारम्भिक जानकारी अनुसार ६ जना घाइते भएको बताइए पनि स्थानीय संञ्चारमाध्यमहरुका अनुसार घाइतेको संख्या १० भन्दा बढी रहेको छ।
घाइतेहरूलाई तत्काल उपचारका लागि जिल्ला सदर अस्पताल पुर्याइएको छ भने गम्भीर अवस्थाका बिरामीहरूलाई थप उपचारका लागि पटना मेडिकल कलेज अस्पताल रिफर गरिएको छ।
घटनापछि बिहारका मुख्यमन्त्री सम्राट चौधरीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको तत्काल र उचित नि:शूल्क उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।
हाल प्रशासनिक अधिकारीहरू घटनास्थलमा खटिएर उद्धार कार्य, भीड नियन्त्रण र स्थिति व्यवस्थापनको निगरानी गरिरहेका छन्।


0 comment