काठमाडौं - राष्ट्रियसभाले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रियसभा आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो ।

यसअघि बैठकमा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर मन्त्री शिशिर खनालले, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर मन्त्री सोविता गौतमले र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर मन्त्री खडक राज पौडेलले टेबुल भएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ५ गते दिउँसो १:१५ बजे बस्नेछ ।