काठमाडौं - सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारी सेवामा रहेर राजनीतिक दलको जिम्मेवारीमा रहेका कर्मचारीलाई कारबाही गर्न सम्बन्धित मन्त्रालयमा सिफारिस गरेको छ।
रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्। उनले कारबाहीका लागि सिफारिस गरिएका कर्मचारीको विवरण भने सार्वजनिक गरेका छैनन्।
‘सार्वजनिक संस्थाको जागिरमा रहेर राजनीतिक दलमा जिम्मेवारी लिएको विषयमा प्राप्त उजुरीमा कानुनी कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको छ। राष्ट्र पहिलो। धन्यवाद!’ बुर्लाकोटीले सामाजिक सञ्जालमा लेखेका छन्।
कारबाहीका लागि सिफारिस गरिएका कर्मचारीको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयमा पठाइएको भए पनि उनीहरूको नाम तथा कार्यरत निकायबारे खुलाइएको छैन।
रास्वपाको नेतृत्वमा सरकार गठन भएपछि निजामती सेवाका विशिष्ट श्रेणीदेखि राजपत्र अनङ्कित तहसम्मका कर्मचारीले राजीनामा दिने क्रम बढेको छ। यसबीचमा सेवा अवधि बाँकी छँदै राजीनामा दिने कर्मचारीको संख्या पनि उल्लेख्य रहेको छ।
चालु आर्थिक वर्षमा मात्रै नेपाल प्रशासन सेवाका १० जना सहसचिवले एक वर्षभन्दा बढी सेवा अवधि बाँकी रहँदै राजीनामा दिइसकेको विवरण छ।


0 comment