काठमाडौं - विपदका समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले नेपालमै विकसित ‘सेल ब्रोडकास्टिङ प्रणाली’ (सिबिएस)को परीक्षण गरिने भएको छ ।
सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद्् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा सोमबार साँझ ५:३० बजे प्राविधिक परीक्षण गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । उक्त परीक्षणका क्रममा काठमाडौँका सीमित क्षेत्रमा सतर्कता सन्देश आएमा नआत्तिन पनि मन्त्रालयले आग्रह गरेको छ ।
यस परीक्षणको मुख्य उद्देश्य विपदका समयमा मोबाइल फोनमार्फत पूर्वसूचना सन्देश प्रवाह गर्ने प्रणालीको प्राविधिक कार्यक्षमता तथा सन्देश प्राप्त हुने अवस्थाको परीक्षण गर्नु रहेको छ ।
दूरसञ्चार प्राधिकरणका अनुसार ‘सेल ब्रोडकास्टिङ’ प्रणाली निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना तथा चेतावनी सन्देश पठाउन सकिने प्रविधि हो । यस प्रणालीमार्फत सिमकार्ड वा इन्टरनेट सेवा नभए पनि मोबाइल नेटवर्कको पहुँचमा रहेका उपकरणमा सन्देश प्राप्त हुन सक्छ ।
सामान्य म्यासेजभन्दा फरक किसिमको यस प्रविधिले नेटवर्कमा अत्यधिक चाप भएका अवस्थामा छोटो समयमा धेरै मोबाइल उपकरणमा सूचना पुर्याउन सक्छ । साथै, विपद््को जोखिम रहेको निश्चित क्षेत्रमा मात्र सन्देश पठाउन सकिने भएकाले आवश्यकताअनुसार लक्षित समुदायलाई सचेत गराउन सकिनेछ ।
प्रारम्भिक परीक्षण सफल भएमा उक्त प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गर्दै विपदको उच्च जोखिम रहेका क्षेत्रमा कार्यान्वयन गर्ने योजना रहेको गृह मन्त्रालयले जनाएको छ ।
यस प्रणालीको कार्यान्वयनले बाढी, पहिरोलगायत प्राकृतिक विपद््को जोखिम रहेका क्षेत्रका नागरिकलाई समयमै सचेत गराउन तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी र सुरक्षात्मक उपाय अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपालमा विपद्् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तथा दूरसञ्चार प्रविधिको उपयोगमार्फत नागरिकको सुरक्षा सुनिश्चित गर्ने दिशामा यो परीक्षणलाई महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।


0 comment