काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच ऊर्जा, पूर्वाधार, यातायात, सुरक्षा, स्वास्थ्य तथा प्रविधिलगायतका क्षेत्रमा सहकार्यका महत्वपूर्ण सम्झौता भएका छन्। भ्रमणका क्रममा ६ वटा परियोजनाको शिलान्यास, उद्घाटन तथा हस्तान्तरण गरिएको छ भने आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त कार्यक्रममा विभिन्न परियोजना अघि बढाइएको हो।

दुई प्रधानमन्त्रीले संयुक्त रूपमा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास गरेका छन्। नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुने यो आयोजना संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुनेछ। आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ।

आयोजना निर्माणका लागि लगानी बोर्ड नेपाल र भारतीय कम्पनी एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच २०८० जेठ १८ गते परियोजना विकास सम्झौता भएको थियो।

त्यसैगरी, भारतको उत्तराखण्डस्थित बनबासामा एकीकृत जाँच चौकी (सुक्खा बन्दरगाह) र झापामा ग्रिनफिल्ड पेट्रोलियम भण्डारण केन्द्रको पनि शिलान्यास गरिएको छ। भारतको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन विस्तार तथा झापामा टर्मिनल निर्माणसम्बन्धी परियोजना पनि अघि बढाइएको छ।

दुई प्रधानमन्त्रीले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उद्घाटन तथा हस्तान्तरण गरेका छन्। यसले नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस्तै, नेपालतर्फ दार्चुला र भारततर्फ धार्चुला जोड्ने मोटर चल्ने पक्की पुलको पनि उद्घाटन गरिएको छ। यसले सीमावर्ती क्षेत्रका नागरिकको आवागमन र दुई देशबीचको व्यापारिक गतिविधिलाई सहज बनाउने अपेक्षा गरिएको छ।

नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले जनकपुरधाम र अयोध्यालाई जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवाको पनि उद्घाटन गरिएको छ। रामायण सर्किटअन्तर्गत अघि बढाइएको यो रेल सेवाले दुई देशका महत्वपूर्ण धार्मिक सहरलाई प्रत्यक्ष रेल सम्पर्कमा जोडेको छ।

अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ तथा भारतीय रेलका उच्च अधिकारीहरूले जनकपुरधाम जाने रेललाई बिदाइ गरेका थिए।

भारतीय रेलवे बोर्डले जनकपुरधाम र अयोध्या क्यान्टबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवाले नेपाल–भारतबीच धार्मिक पर्यटन र सीमापार आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

यसैबीच, प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच आठवटा क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीअनुसार फरेन्सिक विज्ञान, प्रहरी तालिम, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार, दिगो सहरी विकास र पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य गरिनेछ।

गुजरातको गान्धीनगरस्थित नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारी भएको छ। त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच पनि सहकार्य गर्ने सहमति भएको छ।

निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन गर्ने विषयमा भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स, प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभाग र नेपालको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच समझदारी भएको छ।

त्यसैगरी, आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणाली, स्वास्थ्य तथा औषधि, दिगो सहरी विकास र पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा समेत दुवै देशले सहकार्य गर्ने भएका छन्।

नेपालको सूचना तथा सञ्चार मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) बीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने विषयमा पनि सम्झौता भएको छ।

भ्रमणका क्रममा भएका परियोजना शिलान्यास, उद्घाटन तथा विभिन्न क्षेत्रका समझदारीले नेपाल–भारत सम्बन्धलाई पूर्वाधार विकास, आर्थिक साझेदारी र संस्थागत सहकार्यका क्षेत्रमा थप विस्तार गर्ने अपेक्षा गरिएको छ।