काठमाडौं - भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएका छन्।

सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता र समझदारीपत्र आदानप्रदानपछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल आउन निमन्त्रणा दिएका हुन्।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले नेपाली भाषामै सम्बोधन गरेका थिए भने भारतीय प्रधानमन्त्री मोदीले हिन्दी भाषामा सम्बोधन गरेका थिए। उच्चस्तरीय संयुक्त पत्रकार सम्मेलनमा विगतमा प्रायः अंग्रेजी भाषा प्रयोग हुने गरेकोमा प्रधानमन्त्री शाहले नेपाली भाषामै मन्तव्य राखेर फरक अभ्यास प्रस्तुत गरेका छन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धका अभिन्न अंग रहेको उल्लेख गरे। दुई देशबीच भएका समझदारी र अघि बढाइएका विकास परियोजनाको प्रतिफल व्यवहारमा देखिनुपर्नेमा जोड दिँदै उनले ती परियोजनाबाट किसानका खेतमा समृद्धि पुग्नुपर्छ, युवाको हातमा रोजगारी र अवसर सिर्जना हुनुपर्छ तथा विद्यार्थीका सपनाले नयाँ सम्भावना पाउनुपर्ने बताए।साथै, उनले भारतीय लगानीकर्ताहरूलाई नेपालमा लगानी विस्तार गर्न आग्रहसमेत गरे।

सोही अवसरमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँगको छलफल अत्यन्तै सकारात्मक रहेको बताउँदै नेपालको विकासप्रति शाहसँग स्पष्ट दृष्टिकोण रहेको महसुस गरेको उल्लेख गरे।  संयुक्त राष्ट्रसंघ (यूएन) को महासभामा दिएको मन्तव्यको समेत मोदीले सम्बोधनका क्रममा प्रशंसा गरेका थिए ।