काठमाडौं - नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति आत्मसमर्पणवादी भएको आरोप लगाएका छन् ।
बुधबार रिपोटर्स क्लवले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता पोखरेलले रास्वपा र सरकारको परराष्ट्र नीतिमाथि प्रश्न उठाउँदै अर्थमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति आत्मसमर्पणवादी भएको आरोप लगाएका हुन् ।
उनले भारतसँगको सीमा समस्या, डुबान र असमान सन्धिको विषयमा आवाज उठाउँदा भारतविरोधी भनिन्छ भने आफू हजारपटक भारतविरोधी बन्न तयार रहेको तर्क गरे । उहाले आफू भारतविरोधी नभई पञ्चशील र असंलग्न परराष्ट्र नीतिका आधारमा भारत, चीन, अमेरिका र अन्य मित्रराष्ट्रहरूसँग सन्तुलित सम्बन्ध हुनुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारे ।
उनले सरकारको समग्र कार्यशैलीमाथि प्रश्न उठाउँदै राजदूत सिफारिसमा विवादास्पद व्यक्तिहरूलाई अघि सारिएको र नागरिकता विवादमा परेकी व्यक्तिलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा सिफारिस गरेर गलत कदम चालिएको बताए ।


0 comment