सिद्धान्तका कुरा, 

आधुनिक प्रशासनिक विज्ञानका पिता म्याक्स वेवर (Max Weber) का अनुसार नेतृत्वमा (Leadership)  चार सीपहरु अन्तरनिहित हुनु पर्छ । ती भनेको नीतिगत सीप (Policy Skill) संगठनात्मक सीप (Organizational Skill) कर्मचारी परिचालनको सीप (Personnel Skill) र प्रकृयात्मक सीप (Procedural Skill)  हुन् । 

नीतिगत सीप भन्नाले देशको कानून, नीति नियमको गहिरो ज्ञान र त्यसवारे अरुलाई पनि बुझाउन सक्ने, त्यसप्रतिको प्रतिबद्धता अनि नीतिलाई समयमै कार्यान्वयन गर्न गराउन सक्ने क्षमता भन्ने बुझिन्छ ।  संगठनात्मक सीप भन्नाले आफु मुनिका सबै पदहरुको आन्तरिक र वाह्य जिम्मेवारी किटान गर्ने क्षमता, कर्मचारी परिचालनको सीप भन्नाले जिम्मेबारी अनुरुप काम गर्न सक्ने कर्मचारीको सही छनौट (Right Man in Right Post) गर्न सक्ने क्षमता, प्रकृयात्मक सीप भन्नाले आफूमा निहित निर्णय गर्ने अधिकार तल्लो तह सम्म प्रत्यायोजन गरी हरेक तहलाई तह अनुरुप निर्णय गर्ने अधिकार दिन सक्ने क्षमता भन्ने बुभिल्छ । यी चारैवटा सीप एकै ब्यक्तिमा हुन्छ भने मात्रै त्यसलाई नेतृत्व भन्न सकिन्छ । त्यस वाहेक नेतृत्वको अरु मानवीय सीप हुन्छन् ती भनेको सुपरिवेक्षणमा परिपक्वता, काममा पारदर्शिता र ब्यवहारमा सादगीपन हो । यस्तो नेतृत्वले मात्रै संगठनलाई हाकेर समयैमै लक्ष्यमा पुराउन सक्छ । होइन भने यूवा भएकै कारण सक्षम नेतृत्व हुन्छ भन्नु मुर्खता वाहेक अरु केहि  पनि हुन सक्तैन ।

कुरा रास्वपा र रबीको 

रवीलाई यस पंक्तिका लेखकले उस्लाई सम्मान गर्ने क्रममा चिनेको हो । त्यतिखेर रवीले वुध्द नेपालमा जन्मेका हुन भन्ने टीभी कार्यक्रम ६५ घण्टा लगातार चलाई वुध्द भारतमा जन्मेका हुन भन्ने विश्वब्यापी हल्ला चिर्न सफल भएको कारण र विशाल नेपालको पक्षमा टीभी च्यानल मार्फत पैरवी गरेको कारण म प्रकाशक र सम्पादक भएको ग्रेटर नेपाल साप्ताहिकले आफनो दोश्रो वर्षगाठको अवशर पारी रवीलाई देशभक्त पत्रकार भन्दै सम्मान गरेको थियो । तर ७९ को संघीय चुनाव जव म बिरुद्ध रवीले पुकार बमलाई उचाले यो मान्छे धोकेवाज रहेछ भन्ने मलाई लाग्यो । चुनाव पछि जव रवी पहिलोपटक गृह तथा उपप्रधानमन्त्री वने मैले रवीको यो राजनीतिक सफलता मुतको न्यानो सावित हुन सक्छ भनेर भविष्यवाणी गर्दै ग्रेटर नेपाल साप्ताहिकमा एक लेख छापेको थिए । हुन पनि एक पटक मात्रै होइन दुइदुइ पटक रवी जेलमा परे । पहिलोपटक दोहरो राहदानीको कारण र दोश्रोपटक सहकारी ठगीको कारण । 

रवी नीतिगत सीप भएको नेता हुन्थे भने आरोप लाग्ने वित्तिकै आरोप प्रमाणित नभएसम्म अदालती प्रकृया वा सरकारी अनुसन्धानलाई आफनो पक्षमा प्रभावित पार्ने गरी शक्तिको परिचालन गर्न र गर्न दिन हुदैनथ्यो । रवी संगठनात्मक सीप र कर्मचारी परिचालनको सीप भएका नेता हुन्थे भने आरोप लाग्ना साथ अदालती प्रकृया र अनुसंधान नटुंन्गुञ्जेल सम्मको लागि भनेर सभापती पदबाट राजिनामा गरी अर्को सक्षम नेतालाई कायम मुकायम सभापती तोक्थे होला । रवीमा प्रकृयागत नेतृत्वको सीप हुन्थ्यो भने अदालत र सरकारी अनुसन्धानलाई प्रभावित गर्ने किसिमको अभिब्यक्ति र ब्यवहार आफु पनि प्रदर्शन नगर्ने र आफ्ना कार्यकत्र्ताहरुलाई गर्न दिदैनथे होला । तर अहिले जसरी रवीले आफ्ना अभिब्यक्तिहरु दिइरहेकाछन् र आफ्ना कार्यकत्र्ताहरुलाई त्यस्को समर्थनगर्ने क्रममा जसरी सडक तताउन लगाइ रहेका छन् यसले अन्ततोगत्वा नेतृत्वको सर्वमान्य सिद्धान्तकै खिल्ली उडाइरहेको छ । मिसन ८४ को नाममा भोली यहि नेतृत्वलाई जनताले चुनेर सरकार बनाउन दिने हो भने देशमा तानाशाही हावी नहोला भन्ने के ग्यारेन्टी ? राश्वपा यदि साच्चिकै रुपान्तरणको लागि आएको थियो भने यस्ले त आफनो ध्यान र शक्ति संविधान संसोधन गर्ने कार्यमा, भ्रष्टाचार र असक्षमताको भण्डाफोर गर्ने कार्यमा, राजनीतिमा सादगीपन स्थापित गर्ने कार्यमा र राष्ट्रवादको जगेर्ना र सम्वर्धन गर्ने कार्यमा लाग्थ्यो होला । तर यसको ठीक विपरित राश्वपाले आफुलाई पुरानै दलहरुको राष्ट्रघात, पदलोलुपता, भ्रष्टाचार र असक्षमतारुपी पोखरीमा चुर्लुम्म डुवाउन पुग्दा अहिलेको हविगतमा पुगेको होइन भन्ने खै कहाँ छ कुनै आधार ? यूवा मात्रै भनेर हुँदैन यूवाले आवश्यक सीप, क्षमता र ब्यवहार प्रदर्शन गदै उदाहरणीय हुन सक्नु पर्छ ।