विषय प्रवेश, ‘लोकप्रियतावाद अर्थात् पपुलिजम जनतन्त्रका लागि चुनौति बन्दै गएको छ । पश्चिमी मुलुकहरुमा जन्मलिएको लोकप्रियतावादले दक्षिण यसियाली राष्ट्रहरुलाई समेत गाँज्दै लगेको छ । लोकप्रियतावादको कुनै दर्शन, सिद्धान्त र विचारधारा नभए पनि यसले स्थापित जनतन्त्रलाई मज्जैले हल्लाइरहेको छ । यसको उत्पत्ति भने जनतन्त्र रुपी गाडीलाई हाँक्ने ड्राइभरहरुकै कमी कमजोरी र वेवस्तामाथि टेकेर भएको हो । जनतन्त्रका ठेकेदारहरुप्रति मतदाताहरुको मोहभंग हुँदा लोकप्रियतावाहका वकिलहरुको बहसले चुनावी बजारलाई राम्ररी नै प्रभावित पारिरहेको छ । यो एक राजनीतिक दृष्टिकोण हो । जसले प्रायः जनतान्त्रिक मूल्य मान्यता र संस्थाहरुलाई वेवस्ता गर्छ । आम जनताको चिन्ता र चासोलाई सम्बोधन गर्ने पयास गर्छ । अहिले दुनियाँमा उदारवाद जनतन्त्रलाई अधिनायकवादले भन्दा लोकप्रियतावाद र लोकरिझ्याईले लखेटिरहेको छ । लोकप्रियतावादीले आफ्ना समर्थकलाई परिचालन गर्न रणनीतिक रुपमा आम नैराश्यतालाई उपयोग गर्ने गरेका छन् । 

भ्रष्ट राजनीति र त्यसबाट अभिजात बनेका बर्गहरुविरुद्ध सदाचार, सदगुण, पारदर्शिता, योग्यताको कदर, भ्रष्टाचारविरुद्ध शुन्यसहनशीलता, सुशासन, विकास र जनजिवीकाका मुद्दाहरु खडा गर्दै जनतालाई आफुलाई खिच्ने प्रयत्न गर्छन् लोकप्रियतावादीहरुले । लोकप्रियतावादी नेताहरुले प्राय आफुलाई जनताको एकमात्र वैद्य प्रतिनिधिका रुपमा प्रस्तुत गर्छन् । सरकारलाई जवाहदेही बनाउन संरचना गरिएको न्यायपालिका लगायत मिडिया र नागरिक समाज विभिन्न अधिकारवादी संस्थाको निन्दा गर्छन् । यसका अतिरिक्त लोकप्रियतावादी नेताहरुले ‘जनइच्छा’ लाई भाषणमा मसलाको रुपमा प्रयोग गर्छन् । अनि उनीहरुले ‘चेक एण्ड व्यालेन्स’ को स्वास्थ्य जनतान्त्रिक विशेषतालाई नै खारेज गर्छन् । लोकप्रियतावाद अहिले व्यापक विश्वव्यापी प्रवृतिको प्रतिविम्व बनिरहेको छ । यसले जनतन्त्रलाई सवल बनाउने होइन दक्षयीकरण गर्ने गरेको विश्वघट्नाक्रमले पुष्टि गरिरहेको छ । 

जनतन्त्रको हालत

जनतन्त्र, लोकतन्त्र, प्रजातन्त्र जे भने पनि अंग्रेजीमा यसको एउटै शब्द ‘डेमोक्रेसी’ हो । जहाँ वैचारिकताको आधारमा शासन गरिन्छ त्यहाँ जनतन्त्रमाथि विवाद देखिने गर्दैन । एकल पार्टी शासन चलाएका पहिलेको पूर्वी जर्मनीले जर्मन डेमोक्रेटिक रिपब्लिक लेख्थ्यो । अहिले उत्तर कोरियाले पनि डेमोक्रेटिक रिपब्लिक कोरिया भन्दै जनतन्त्र शब्दलाई प्रयोग गर्ने गरेका छन् । अर्थात् शासन जस्तोसुकै भए पनि जनतन्त्र अर्थात् ‘डेमोक्रेसी’ अन्तर्राष्ट्रिय ''Brand" बनेको छ । केही समय अघि अमेरिकी राष्ट्रपति जो वाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ‘तानाशाह’ भनेकोमा चीनले प्रकट गरेको तीव्र रोषले नै यस तथ्यलाई राम्रैसँग पुष्टि गर्दछ । 

सही जनतन्त्र हुन त्यस प्रणालीमा निश्चित विशेषता हुन अनिवार्य हुन्छ । राजनीतिक आर्थिक स्वतन्त्रता व्यक्तिको स्वतन्त्रता र त्यसको रक्षाको सुनिश्चितता मानव अधिकारको रक्षा र त्यसको कार्यान्वयनका लागि स्वतन्त्र न्यायपालिका, बालिग मताधिकारको आधारमा आवधिक स्वतन्त्र निर्वाचन, धार्मिक, जातीय तथा समुदायगत विभेदको अन्त्य जस्ता सुन्दर पक्षहरु जनतन्त्रमा समावेश गरिएका हुन्छन् । यिनै विशेषताहरुले सजिनु नै जनतन्त्र अब्बल बन्नु हो । अन्यथा जनतन्त्र नामका लागि नाम मात्र हुन जान्छ । 

विसौं शताब्दीलाई जनतन्त्रको शताब्दी मानिन्छ । यस शताब्दीमा पहिलो र दोस्रो विश्वयुद्ध र रुसी मोडलको कम्युनिष्ट प्रणालीको उदय भयो । पूर्वी युरोपमा समेत कम्युनिष्ट शासन व्यवस्थाको लहर चल्यो । एसिया अछुतो रहने कुरा भएन । चीनमा माओको नेतृत्वमा कम्युनिष्ट शासन उदायो । भियतनाम, कम्बोडिया लाओस लगायतका मुलुकहरु पनि व्यवस्था फेरिए । ल्याटिन अमेरिकी देशहरुमा पनि कम्युनिष्ट शासनको भूत देखापर्‍यो । अर्थात् विश्वस्तरमै कम्युनिष्ट एकदलीय प्रणालीको लहरले तहल्का मच्चायो । तर समय एकनास रहेन । अफ्रिकी देशहरुमा समेत राज गर्न पुगेको कम्युनिष्ट शासनको पतन सन् १९८९ पछि जताततै सुरु भयो । 

जतिखेर सोभियतकाल थियो प्रर्वी युरोप चरम गरिबीमा गुज्रिरहेको थियो भने विश्वकै पहिलो आवादी रहेको चीन गरिबी, भोकमरी र अशिक्षासँग जुधिरहेको थियो । पश्चिमी युरोपको सम्पन्नताले एकदलीय व्यवस्थामाथि प्रश्च चिन्ह खडा गरिदियो भने जनतन्त्रको श्रेष्ठतालाई स्थापित पनि गरिदियो । नब्बेको दशकमा सोभियत संघको पतन भएसँगै पूर्वी युरोपेली देशहरुका कम्युनिष्ट शासन पनि तासको महल जस्तै गर्लाम गुर्लम ढल्न पुगे । यसको असर त्यहाँसम्म पुग्यो जहाँ कम्युनिष्ट शासकहरुले एकदलीय कम्युनिष्ट अधिनायकवादी शासन चलाईरहेका थिए । 

२१ औं शताब्दीमा भने कम्युनिष्टहरुले समेत जनतन्त्रका विशेषताहरु मध्येको बहुदलीय शासन प्रणालीलाई आत्मसात गरिरहेका छन् । धेरैले पार्टीको नाम ‘कम्युनिष्ट’ नै हटाएर निर्वाचनमा होमिने गरेका छन् । नेपाल र भारतमा मात्र विशेषत ‘कम्युनिष्ट ट्रेड मार्क’ चलिरहेको छ । भारतमा त कम्युनिष्टहरुको हरिविजोग नै भएको छ तर नेपालमा भने कम्युनिष्ट शब्द भजाएर देश र जनतालाई लुट्नेहरुको बाहुल्यता नै छ । जहाँ गरिबी र दरिद्रता छ, जनसँख्याको ठूलो हिस्सा अशिक्षित छ त्यहाँ कम्युनिष्ट नाम गरेका धुर्तहरुको ‘कमाउ व्यापार’ राम्रैसँग चल्ने गर्छ । उनीहरुले जनतालाई समृद्धिको सपना देखाउँछन् र आफु आफ्नो परिवार, नातागोता र दलको स्वार्थ पुरा गर्छन् । नेपालमा अहिले त्यही नै त भइरहेको छ । 

परिस्थिति अहिलेको २१ औं शताब्दीमा बद्लिएको छ । एकदलीय अधिनायकवादको अभ्यास गर्दै आएको चीन सन् १९७८ देखी पुँजीवादी अर्थतन्त्रमा प्रवेश गर्‍यो । त्यसयता उसले पछाडि फर्केर हेर्नु परेको छैन । आज चीन अमेरिकापछि विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बन्न पुगेको छ । सन् २०५० सम्ममा चीनले अमेरिकी अर्थतन्त्रलाई पछि पार्ने प्रक्षेपण अमेरिकी नेतृत्वकै विश्व बैक र अन्तर्राष्ट्रिय मुद्राकोषले गरिसकेका छन् । पश्चिम एसिया (मध्यपूर्व) का अनुदार राजतन्त्रको अभ्यास गरेका संयुक्त अरब इमिरेट्स कतार, साउदी अरेविया, कुवेतले पनि आफ्नो अर्थतन्त्र विस्तार गर्दै प्रतिव्यक्ति आयमा उदार जनतान्त्रिक व्यवस्था अपनाएका मुलुकहरुलाई पछि पार्दैछन् । कतिपय देशमा लोकप्रियतावादको भर्‍याङ चढेर अनुदारवादीले सत्तामा पकड बलियो बनाएका छन् । कतिपय देशमा अनुदारवादीको जनसमर्थन बढ्दो छ । 

लोकरिझ्याईकै आधारमा भर्खरै श्रीलंकामा बामपन्थी नेता अनुरा कुमार दिसानायके राष्ट्रपति पदमा निर्वाचित भएका छन् । उनले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा नारा दिएका थिए । उनी बामपन्थी भएपनि उनको पार्टीको नाम भने जनता मेरामुना (जुभीपी) रहेको छ । लोकप्रियतावादकै खेती गरेर ब्राजिलमा बोल्सेनारो सत्तामा पुगेका थिए । इटालीमा पनि लोकप्रियतावादी भनेर चिनिने जर्जिया मेलोनीको हातमा सत्ताको नेतृत्व छ । जनतन्त्रको मूलभूत चरित्र स्वतन्त्रता समानता, भ्रात्ृत्व र विश्व बन्धुत्व नै हो । जनताले लोकप्रियतावादलाई पत्याईदिँदा यसले विश्व शान्ति र मानवहितलाई नै कमजोर पार्नसक्ने चिन्ता रहन्छ । 

केही समय अघि अमेरिकाको ओपन सोसाइटी फान्डेसनले विश्वका ३० देशका ३६ हजार मानिसमा मानवअधिकार र जनतन्त्रका सम्बन्धमा प्रश्न गर्दै एक सर्वेक्षण गरेको थियो । सेप्टेम्बरमा प्रकाशित सर्वेक्षणको नतिजाले डराईहाल्नु पर्ने अवस्था भने देखाउँदैन । ८६ प्रतिशत मानिस जनतान्त्रिक शासन व्यवस्थाले नै मानवअधिकारको रक्षा गर्दै भौलिक सुख सुविधालगायत समस्या समाधान गर्दछ भन्ने विश्वास गर्दछन् । तर सर्वेक्षणमा  समावेश गरिएका १८ बर्षदेखि ३५ बर्ष उमेर समुहका युवामध्ये ३५ प्रतिशत युवा जनतन्त्रको बद्ला बलियो एकल नेतृत्व भएको शासनले राम्रो परिणाम दिन्छ भन्नेमा विश्वास गर्छन् । यो अनुदारवादी वा अधिनायकवादी शासनको पक्षामा देखिएको मत हो जसले जनतन्त्र माथि चिन्ता बढाउँछ । ऊर्जावान शक्ति युवाहरुमा स्थापित जनतन्त्र प्रति अविश्वास बढ्दै गएको यसले देखिउँछ । यो समुह शिक्षित समुह हो । युवा समुह आफ्नो भविष्यप्रति अत्यन्न जागरुक संवेदनशील छ । बेरोजगारी, भ्रष्टाचार, आर्थिक असमानता, शासनतन्त्रको अव्यवस्था, महँगो स्वास्थ्य सेवा, पहुँच बाहिरको शिक्षा प्रणाली, वेथिति र विसंगतिका कारण अहिलेका युवाले जनतन्त्रलाई सन्देहको नजरले हेर्न थालेका छन् ।