काठमाडौं - मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । 

कार्यालयको तथ्याङ्कअनुसार चार महिना (साउन- कात्तिक) मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो । 

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ६७ दशमलव ८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो ।

चालु आवको पहिलो चार महिनामा दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको छ । गत आवको सोही अवधिमा एक अर्ब ३१ करोड ३४ लाख ३६ हजार बराबरको चिया निर्यात भएको थियो । 

कार्यालयको तथ्याङ्क अनुसार चालु आवको पहिलो चौमासिकमा अलैँची, अम्रिसो, छुर्पी, अदुवा, काउली, बन्दागोपी र ब्रोकाउलीको निर्यात घटेको छ । 

भेनियर सिटको निर्यात भने दुई सय ४१ दशमलव ९४ र प्लाइउडको निर्यात २९ दशमलव ६३ प्रतिशतले बढेको छ । 

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकसम्म चार अर्ब ७२ करोड सात लाख २३ हजार राजस्व सङ्कलन भएको जनाएको छ । 

उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको २७ दशमलव २२ प्रतिशत हो ।