काठमाडौं - गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० बराबरको बिमा दाबी गरिएको छ । 

नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म रु ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ बराबरको दाबी भुक्तानी भएको छ । बिमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त भएका छन् ।
 
प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ । सो कम्पनीमा पाँच सय एक दाबीका आवेदन परेका छन् । 

दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक सय ७६, सगरमाथा लुम्बिनीमा तीन सय ७७, हिमालयन एभरेष्ट दुई सय ४३, नेकोमा दुई सय १९, युनाइटेड अजोडमा तीन सय २३, सानिमा जिआइसीमा दुई सय १७, आइजिआई प्रुडेन्सियलमा दुई सय ९६ दाबी परेका छन् ।
 
त्यस्तै, नेशनल इन्स्योरेन्समा ८६, एनएलजीमा एक सय ७२, नेपाल इन्स्योरेन्समा एक सय ७६, प्रभु इन्स्योरेन्समा एक सय ३७, राष्ट्रिय बिमा कम्पनीमा १७, स्टार माइक्रो इन्स्योरेन्समा १०, ट्रष्ट र नेपाल माइक्रो इन्स्योरेन्समा समान चार/ चार वटा दाबी पर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सात दाबी निवेदन परेका छन् । कूल दाबीमध्ये नौ सय दुई वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ । 

कूल एक हजार छ सय ५३ वटा सम्पत्ति बिमा दाबी गरिएकामा तीन सय ९८ वटाको भुक्तानी भएको छ । कूल सम्पत्ति बिमा दाबी रु आठ अर्ब ७५ करोड ८७ लाख ५१ हजार दुई सय ३४ भएकामा रु ४६ करोड ७० लाख ९७ हजार सात सय ८० मात्रै भुक्तानी भएको छ । 

इञ्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ तीन सय चार वटा दाबी परेका छन् । विशेष गरी बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेको थियो ।

अधिकांश ऊर्जा उत्पादक केन्द्रले बिमा गर्ने भएकाले पनि यो शीर्षकमा परेको दाबी भुक्तानीका लागि व्यवसायीहरुले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत ध्यानाकर्षण गराएका छन् । दाबी भएका मध्ये ३८ वटाको तीन करोड ११ लाख २८ हजार पाँच सय ५५ मात्रै भुक्तानी भएको छ ।