काठमाडौं — अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गरी कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेना प्रयोग गर्ने बताएका छन । राष्ट्रपति जो बाइडनको प्रशासनकालमा गैरकानुनी रूपमा आप्रवासीको संख्या बढेपछि ट्रम्पले कागजातविहीन लाखौं आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिको जोडिएको सिमानालाई व्यवस्थित बनाउने बताए । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक कन्जरभेटिभ कार्यकर्ताको हालैको पोस्टलाई पुनः पोस्ट गरेका छन् । त्यसमा लेखेका छन्, ‘नवनिर्वाचित राष्ट्रपति राष्ट्रिय आपतकाल घोषणा गर्न तयार हुनुहुन्छ र सामूहिक निर्वासन कार्यक्रम अघि बढाउन तयार हुनुहुन्छ ।’ पुनः पोस्ट गरेसँगै ट्रम्पले उक्त कुरा ‘साँचो’ भएको उल्लेख गरेका हुन । ट्रम्पले अध्यागमन र भन्सार प्रवर्तनका पूर्वकार्यवाहक प्रमुख टम होमनलाई आफ्नो ‘सीमा जार’ को रूपमा नामकरण गर्दै आप्रवासनबारे कट्टरपन्थी सोच राख्ने सदस्यहरूको एक क्याबिनेट समेत घोषणा गरेका छन् । गत जुलाईमा रिपब्लिकन नेसनल कन्भेन्सनमा उपस्थित भएर उनले समर्थकहरूलाई भनेका थिए, ‘मैले लाखौं अवैध आप्रवासीलाई एउटा सन्देश दिन चाहन्छु कि जो बाइडनले भित्राएका उनीहरूलाई फिर्ता पठाइनेछ । स्रोतका अनुसार संयुक्त राज्य अमेरिकामा करिब एक करोड १० लाख मानिस गैरकानुनी रूपमा बसिरहेका छन् । ट्रम्पको निर्वासन योजनाले करिब दुई करोड परिवारमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ । अमेरिकी सरकारले मेक्सिकोसँगको दक्षिणी सीमा व्यवस्थापनका लागि वर्षौंदेखि संघर्ष गरिरहेको बेला ट्रम्पले आप्रवासीहरूले अमेरिकीहरूलाई बलात्कार र हत्या गर्ने गरेको आरोप लगाएका छन् । आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले पटक–पटक गैरकानुनी आप्रवासीविरुद्ध आवाज उठाएका थिए ।

(एजेन्सी)