काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग क्षतिपूर्ति माग गरेका छन् । तेहरानले अमेरिकाबाट युद्ध क्षतिपूर्ति प्राप्त भएपछि मात्रै होर्मुज जलडमरूमध्य पुनः खोल्ने शर्त राखेपछि ट्रम्पले इरानबाटै क्षतिपूर्ति माग गरेका हुन् ।

सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले विगत ५० वर्षमा पुर्‍याएको क्षतिको क्षतिपूर्ति अमेरिकाले माग्ने बताएका छन् । उनले तेहरानको मागको जवाफस्वरूप आफूहरूले यस्तो कदम चाल्ने संकेत दिएका हुन् । इरानले अमेरिकाले युद्ध क्षतिपूर्ति दिनुपर्ने र प्रतिबन्धहरू हटाउनु पर्ने माग गर्दै आएको छ । यी शर्त पूरा नभएसम्म होर्मुज जलडमरूमध्य नखोल्ने तेहरानको अडान छ । अमेरिकी–इजरायली युद्धअघि विश्वभर प्रवाह हुने कुल तेल र तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचमध्ये एक हिस्सा यही जलडमरूमध्य हुँदै जाने गर्थ्याे ।

इरान र ओमानबीच हर्मुज जलडमरूमध्यलाई लिएर वार्ता जारी छ । तर ट्रम्पको पछिल्लो क्षतिपूर्ति मागले यो सामुद्रिक मार्ग पुनः खोल्ने प्रयास थप जटिल बन्न सक्ने देखिएको छ । ट्रम्पले पत्रकारहरूसँग भने, ‘उनीहरूले क्षतिपूर्ति मागे । अथवा हामीले गरेको क्षतिको बदलामा पैसा मागे । मैले त्यो राम्रो विचार हो भनें । अब हामी पनि उनीहरूले विगत ५० वर्षमा गरेको क्षतिको पैसा माग्नेछौं ।’

ट्रम्पका अनुसार उक्त क्षतिपूर्तिमा मध्यपूर्वमा मारिएका अमेरिकी सैनिकका परिवारका साथै इरानमा भएका नागरिक प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको विषय पनि समेटिनेछ । उनले पछिल्लो चार महिनामा इरानमा ५२ हजार मानिस मारिएको दाबी गरेका छन् । तर तेहरानका अनुसार जनवरीमा भएको सरकारविरोधी प्रदर्शनका क्रममा करिब ३ हजार ११७ जनाको मृत्यु भएको थियो । अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीले फेब्रुअरीमा सार्वजनिक गरेको विवरणमा करिब ७ हजार जनाको मृत्यु भएको उल्लेख गरेको थियो, जसमा ६ हजार ५०० जना प्रदर्शनकारी रहेको बताइएको थियो ।