काठमाडौं - युएईबाट इजरायलतर्फ गएको विमानमा पाइलटले अर्का पाइलटलाई चक्कु प्रहार गरे, विमान साउदी अरबमा सुरक्षित अवतरण
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले एक पाइलटले अर्का पाइलटलाई चक्कुले प्रहार गरेको र त्यसपछि विमान दुर्घटना गराउने प्रयास गरेको बताएका छन्।
विमानमा करिब १७० यात्रु सवार थिए । यात्रु र चालकदलका सदस्यहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि विमान साउदी अरबमा सुरक्षित अवतरण गरेको थियो।
केही यात्रुहरू चिच्याइरहेका बेला फ्लाइदुबईको विमानले आपतकालीन संकेत जारी गरेको थियो र अचानक हजारौँ फिट तल झरेको थियो। सम्भावित विमान अपहरणको आशंकामा इजरायलले लडाकु विमानहरू पनि परिचालन गरेको थियो।
बुधबार साँझ उक्त उडानका यात्रुहरू बोकेको विमान इजरायलमा अवतरण गर्दा विमानस्थलमा यात्रुहरूलाई जयजयकारसहित स्वागत गरिएको थियो। तर आक्रमणको वास्तविक कारण भने तत्काल स्पष्ट हुन सकेको छैन।
भिडियोमा एक व्यक्तिले हिब्रू भाषामा “हामी पाइलटको सुरक्षा गरिरहेका छौँ” भनेको सुनिन्छ।
अर्को भिडियोमा विमान हल्लिरहेका बेला यात्रुहरू रुँदै र डरले चिच्याइरहेको देखिन्छ।
घटनामा हस्तक्षेप गर्ने यात्रु तथा चालकदलका सदस्यहरूले धेरैको ज्यान बचाउनुका साथै ठूलो दुर्घटना हुनबाट रोकेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताएका छन्।
उनले साउदी अरबले आक्रमणमा संलग्न पाइलटलाई पक्राउ गरेको पनि बताए। तर ती पाइलटको पहिचान तत्काल सार्वजनिक गरिएको थिएन।
साउदी अरबले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको थिएन।
दुई पाइलटबीच झडप, यात्रु र चालकदलले हस्तक्षेप गरे
एक इजरायली अधिकारीका अनुसार दुई पाइलटबीच झडप भएको थियो र तीमध्ये एक जनासँग चक्कु थियो। घटनाबारे अनुसन्धान भइरहेकाले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा ती अधिकारीले यस्तो जानकारी दिएका हुन्।
दुबईबाट उडेको करिब साढे दुई घण्टापछि विमान करिब एक मिनेटमै ३३ हजार फिटबाट १७ हजार फिट (करिब १० हजार मिटरबाट ५,१०० मिटर) तल झरेको थियो।
उडानसम्बन्धी तथ्यांकअनुसार, त्यसपछि विमानले जोर्डनको सीमाना नजिक अनियमित रूपमा घुमाउरो चक्कर लगाएको थियो। त्यसको करिब एक घण्टापछि विमान तबूकमा अवतरण गरेको थियो।
घटनाका क्रममा यात्रु र चालकदलका सदस्यहरूले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिन सहयोग गरेका थिए।
विमान तलतिर झर्न थालेपछि एक यात्रु र चालकदलका एक सदस्यले ककपिटमा प्रवेश गरेको नेतन्याहूले आफूले कुरा गरेका एक यात्रुलाई उद्धृत गर्दै बताएका छन्। त्यसपछि चालकदलका अन्य सदस्यहरूले विमानको उडान नियन्त्रण सम्हालेका थिए।
घटनामा हस्तक्षेप गर्ने यात्रुहरूमध्ये इजरायली सुरक्षा बलका सदस्य तथा एयर मार्शलहरू पनि रहेको साउदी अरब र क्षेत्रीय साझेदारहरूले गरिरहेको अनुसन्धानबारे जानकार एक व्यक्तिले बताएका छन्। ती व्यक्तिलाई सार्वजनिक रूपमा बोल्ने अनुमति नभएकाले उनले नाम नखुलाउने सर्तमा यस्तो जानकारी दिएका हुन्।
फ्लाइदुबईले पनि “ककपिटमा झडप भएको” पुष्टि गरेको छ। कम्पनीका अनुसार ड्युटीमा रहेका चालकदलका सदस्यहरूले विमानलाई सुरक्षित बनाएर डाइभर्ट गरी सुरक्षित रूपमा अवतरण गराएका थिए।
घटनापछि विमान अपहरण भएको हुन सक्ने आशंकामा इजरायलले लडाकु विमानहरू परिचालन गरेको एक अधिकारीले पुष्टि गरेका छन्। घटनाबारे अनुसन्धान भइरहेकाले ती अधिकारीले पनि नाम नखुलाउने सर्तमा जानकारी दिएका हुन्।


0 comment