काठमाडौं - सर्वोच्च अदालतले महानिरीक्षक (आईजीपी) बाट हटाइएका दानबहादुर कार्कीको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको ठहर गरेको हो । विपक्षीहरूबाट लिखित जवाफ परेपछि सात दिनभित्रै पेसीमा चढाउन र पेसी नहटाउने पूर्वसूचना दुवै पक्षलाई दिन पनि आदेश भएको छ ।
कार्कीले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले आफूलाई पूर्ववत् आईजीपी पदमा पुनर्बहाली गर्न र नयाँ नियुक्ति पाएका मनोजकुमार केसीलाई आईजीपीका रूपमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशसमेत माग गरेका थिए ।


0 comment